News समाज

पहिरो जाँदा सडक अवरुद्ध

पहिरो जाँदा सडक अवरुद्ध

नुवाकोट । पासाङल्हामु सकडको त्रिशूली बेत्रावती खण्डको तिरतिरे भिरमा आज बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको छ । यहाँको विदुर नगरपालिका–१० को तिरतिरे भिरमा आज बिहान १०ः३० बजेतिर पहिरो गएपछि सडक बन्द भएको हो । 

 

पचास मिटर माथिबाट आएको पहिरोले करीब १० मिटर सडक पुरेको छ । पहिरो खसिरहेकाले तत्काल हटाउन नसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


पहिरोका कारण काठमाडौँबाट रसुवाका लागि हिँडेको र रसुवाबाट काठमाडौँका लागि हिँडेका दर्जनौँ सवारीसाधन रोकिएको छ । 

 

रसुवा जानका लागि वैकल्पिक सडक त्रिशूलीबाट तुप्चे हुँदै मनकामनाबाट पैरेबेसी तरेर जान सकिने सडकसमेत मनकामनामा पहिरोले भत्काएर कारण सवारी साधन नुवाकोटमै अलपत्र परेको हो । 

 

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी सडक योजनाले सडक स्तरोन्नतिका क्रममा कटिङ गरेको सडकमा पहिरो गएको हो । पहिरो खुलाउन दुई दिनसम्म लाग्ने प्रहरीले जनाएको छ ।
 

सडक अवरुद्ध त्रिशूली बेत्रावती खण्ड

विशेष