News मुख्य समाचार राजनीति

कांग्रेसको देशव्यापी विरोध प्रदर्शन सम्पन्न

कांग्रेसको देशव्यापी विरोध प्रदर्शन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थिरता र समृद्धि बोलेर मात्र नहुने भएकाले व्यवहारमा काम गरेर देखाउन सरकारलाई चुनौति दिएका छन् । 

 

नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले मंगलबार राजधानीमा आयोजना गरेको विरोध¥यालीपछि आयोजित कोणसभामा नेता सिंहले निर्वाचनका बेला बोलेका स्थिरता र समृद्धिका नारा व्यवहारमा कार्यान्वयन गर्न वर्तमान सरकार अग्रसर नदेखिएको आरोप लगाए । 

 

कांग्रेसकै नेतृत्वमा २००७ सालदेखि २०६२÷६३ सम्मका सबै लोकतान्त्रिक आन्दोलन सफल भएको र कांग्रेसको नेतृत्वमै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भई सबै तहका निर्वाचन सम्पन्न भएको बताउँदै उनले भने, ‘सरकारले नचाहिने मुद्दामा हात हालेर जनतालाई दुःख दिने काम गरेको छ, हामी यसमा खबरदारी गर्न चाहन्छौँ । जनताको तागत के हो भन्ने कुरा पछिल्लो समयमा चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा उजागर भएको अभिव्यक्ति हो ।’ 


कार्यक्रममा पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थाको पालना गर्न सत्ता पक्षले उदासीन देखाएको आरोप लगाउँदै संविधान र कानुनलाई सबैले मान्नुपर्ने विचार व्यक्त गरे ।  


पार्टीका केन्द्रीय सदस्य अम्बिका बस्नेत र नवीन्द्रराज जोशी, काठमाडौं कांग्रेसका सभापति सबुज बानियाँ, कोषाध्यक्ष गोविन्द पुडासैनीलगायतले बढेको कर फिर्ता लिन महँगी नियन्त्रण गर्न एवं महिलामाथि हिंसा गर्नेलाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका थिए ।

 
७७ जिल्लामा विरोध प्रदर्शन 

 

प्रमुख प्रतिपक्षी दल कांग्रेस केन्द्रीय कार्यसमितिको निर्देशनानुसार मंगलबार ७७ जिल्लामा विरोध प्रदर्शन सम्पन्न भएको पार्टीले जनाएको छ । प्रदर्शनमा समग्रमा पार्टीका पाँच लाखभन्दा बढी नेता, कार्यकर्ता र शुभ चिन्तकको सहभागिता रहेको कांग्रेसद्वारा मंगलबार जारी विज्ञप्तिमा जनाइएको छ । 

 

प्रदर्शनमा प्राडा गोविन्द केसी र सरकारबीच भएको सम्झौता अक्षरशः कार्यान्वयन गर्न दबाब दिने, मूल्य वृद्धिविरुद्धको जनभावनालाई प्रकट गर्ने, संविधानको धारा ९१ को उपधारा २ को कार्यान्वयनमा दबाब बढाउनेलगायत विषयमा केन्द्रित रहेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

 

नेपाली काँग्रेस

विशेष