पोखरामा पहिलोपटक प्राविधिक तथा व्यावसायिक शैक्षिक मेला
युरोपियन युनियनको सहायता कार्यक्रम उपयोग सिद्ध

काठमाडौं । व्यावसायिक शिक्षा तथा तालिम परिषद्अन्तर्गत अनुसन्धान एवं सूचना विभागको आयोजनामा पोखरामा प्राविधिक, व्यावसायिक शिक्षा तथा तालिम वृत्ति विकाससम्बन्धी दुई दिने मेला सम्पन्न भएको छ ।
उक्त मेला युरोपियन युनियनको स्विस विकास सहयोग र पोखरा प्राविधिक शिक्षालयको तत्वावधानमा गत शुक्रबार र शनिबार पोखरामा पहिलोपटक आयोजना गरिएको हो । मेलामा सिटीइभिटीआबद्ध पोखरा, धौलागिरी चितवनका निजीक्षेत्रका शैक्षिक संस्थाले २२ वटा स्टल राखेका थिए । जसमा करिब ६ हजार ५ सयजनाभन्दा बढी सरोकार व्यक्ति र संघसंस्थाले (त्यसमा पनि भर्खरै एसइई परीक्षा दिएका विद्यार्थीहरू) जीवन वृत्ति विकासबारे जिज्ञासा र ज्ञान हासिल गरेका थिए ।
मेलामा विद्यार्थी, अभिभावक, प्रशिक्षक र रोजगार व्यक्तिहरूले प्राविधिक र व्यावसायिक शिक्षाको माध्यमबाट जीवन वृत्ति विकास गर्नेबारे सूचना आदानप्रदान तथा आपसी गहन छलफल गरेका थिए । मेलाले विद्यार्थीहरूलाई भविष्यमा कुन विषयमा अध्ययन गर्दा आफ्नो शैक्षिक वृत्ति विकास गर्न सकिन्छ भन्ने महत्वपूर्ण सहयोग उपलब्ध गराएको थियो ।
प्राविधिक क्षेत्रमा शैक्षिक वृत्ति विकास गर्ने चासो अभिवृद्धि हुँदै गएको र वर्तमान सरकारको पनि प्राविधिक शिक्षाको विकास गर्ने लक्ष्यलाई मेलाले सहयोग पु¥याइएको बताइएको छ । मेलामा प्रदेश नं. ४ का सामाजिक विकासमन्त्री नरदेवी पुनले नेपालमा उपलब्ध प्राकृतिक स्रोतसाधनको उचित सदुपयोग गर्न नसकिरहेको अवस्थामा प्राविधिक शिक्षामार्फत दक्ष जनशक्ति उत्पादन गर्न यस्ता मेलाको बेग्लै महत्व रहने बताइन् ।
सिटिइभिटीका सदस्यसचिव पुष्पराम वाग्लेले व्यावसायिक तथा प्राविधिक शिक्षा हासिल गरेका विद्यार्थीले अन्य शिक्षण संस्थाको तुलनामा राम्रो स्तरको जीवनयापन गरिरहेको बताउँदै मुलुकमा दक्ष जनशक्तिको खाँचो पूर्ति गर्न व्यावसायिक तथा प्राविधिक शिक्षाको महत्व बेग्लै रहेको बताए ।
नेपालका लागि युरोपियन युनियनका सहायता प्रमुख एन्द्रियाज रोइट्जरले युरोपियन युनियन सिटिइभिटीसँग आबद्ध हुन पाएकोमा खुसी व्यक्त गर्दै उनले मेला आयोजनाबाट व्यावसायिक शिक्षाको टड्कारोको पुष्टि भएको बताए ।
भर्खरै लेखनाथबाट एसइई परीक्षा उत्तीर्ण गरेका अजय पन्तले आफूले इलेक्ट्रिकल ट्रेनिङमा संलग्न प्रशिक्षार्थीहरूसँग कुराकानी गर्दा इलेक्ट्रिकल क्षेत्रमा धेरै अवसरहरू रहेको अनुभव प्राप्त गरेको बताए ।