कनकमणिको कम्पनीलाई ३० लाख ३० हजार जरिवाना

कनकमणिको कम्पनीलाई ३० लाख ३० हजार जरिवाना

काठमाडौं । बिजुली चोरेर प्रयोग गरेको काभ्रेको नमोबुद्ध नगरपालिका–१ मथुरापाटीस्थित अर्गानिक हिमालय कम्पनीले ३० लाख ३० हजार भन्दा बढी रकम जरिवाना तिरेको छ । जरिवाना तिरेपछि सो कम्पनीका सुरक्षा गार्डलाई रिहा गरिएको छ ।

 

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्रमुख रविन्द्रकुमार यादवका अनुसार कम्पनीका लेखापालले ३० लाख ३० हजार २२४ रुपैयाँ सोमबार तिरेका छन् । ‘नियमअनुसार जरिवानासहितको रकम असुलउपर गरेका छौं,’ यादवले भने, ‘उहाँहरुले पहिलेको सिंगल फेजको सट्टा अब थ्रीफेजको लाइन जडान गर्नका फारम लिएर पनि जानु भएको छ ।’

 

अर्गानिक हिमालय कम्पनी पत्रकार कनकमणि दीक्षितको हो । उनले सिंगापुरमा बस्दै आएका विदेशी नागरिकसँग ६ महिना अगाडि सो कम्पनी र त्यसले चर्चेको ५० रोपनी जग्गा किनेका थिए ।

 

यादवका अनुसार त्यहाँ होटल सन्चालित थियो र सो होटलले ०६४ सालमा गाह्रस्थतर्फका ग्राहकले प्रयोग गर्ने सिंगल फेजको मिटर जडान गरेको थियो । तर, कम क्षमताको लोड लिएर चोरीमार्फत धेरै विद्युत खपत गर्ने विद्युतीय उपकरण प्रयोग गरिरहेको अनुगमनको क्रममा फेला परेको थियो ।

कम्पनी जरिवाना

संम्बधित खबर

विशेष