दक्षिण एशियाली दूरसञ्चार कार्यशालामा ९ मुलुक सहभागी
काठमाडौं । दक्षिण एशियाली दूरसञ्चार सम्बन्धी तीन दिने कार्यशाला मङ्गलवारबाट काठमाडौंमा शुरु भएको छ । कार्यशालाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले प्रविधिको विकास मात्र नभएको यसको प्रयोगको संस्कृतिको विकास हुनुपर्ने बताए ।
‘प्रविधिको विकाससँगै यसको प्रयोगलाई दक्षिण एशियालीमा संस्कार र संस्कृतिले फरक पार्छ,’ मन्त्री बाँस्कोटाले भने, ‘प्रविधिको प्रयोगबारे लैङ्गिक भेद छ । अझ पनि नेपाली समाजमा महिलाले किन फेसबूक चलाउनुप¥यो भन्ने छ ।’ यस्तो भेदलाई हटाउन जनचेतना फैलाउनुका साथै दक्षिण एशिया एक ढिक्का भएर लाग्न आवश्यक रहेको उनको भनाइ छ ।
तीन दिनसम्म चल्ने कार्यशालामा दक्षिण एशियाका विभिन्न विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नुका साथै त्यसबारे छलफल गर्नेछन् । कार्यशालामा नीति निर्माणसँगै यसको कार्यान्वयन र सेवामा जोड दिइने छ ।
कार्यशालामा विभिन्न मुलुकका प्रतिनिधिहरु बीच आ–आफ्ना मुलुकको अनुभव साटासाट गरिने हुँदा यसबाट फाइदा पुग्ने आयोजक नेपाल दूरसञ्चार प्राधिकरणको विश्वास छ । यस कार्यशालामा ८ दक्षिण एशियाली मुलुकसँगै इरानको पनि सहभागिता रहेको छ ।
दूरसञ्चार एशियाली