सिंहदरबारका कर्मचारी ‘ग्यास्ट्रिक’ र ‘हाई ब्लड प्रेसर’ले ग्रस्त
काठमाडौं । सिंहदरबारमा सरकारले स्थापना गरेको हेल्थ डेस्कमा उपचारका लागि आउने सरकारी कर्मचारीमा अधिकांश ग्याष्ट्रिक र उच्च रक्तचापको समस्या पाइएको छ । गत फागुन १५ गतेदेखि स्वास्थ्य मन्त्रालयले सिंहदरबार हाताभित्र स्थापना गरेको हेल्थ डेस्कमा उपचार गराउन जाने कर्मचरीहरुमा यस्तो समस्या देखिएको हो ।
हेल्थ डेस्कमा दैनिक तीनदेखि बाह्र जनासम्म कर्मचारी उपचारका लागि जाने गरेका छन् । उपचारका लागि जाने कर्मचारीको रक्तचापको जाँच गर्दा अधिकांशमा उच्च रक्तचापको समस्या रहेको डाक्टर विनिता जोशीले जानकारी दिइन् । यसबाहेक रक्तचापका अवस्था बुझ्न, टाउको दुख्ने, झाडापखाला लगायतका समस्या भएकाहरु पनि उपचारका लागि जाने गरेका छन् ।
अस्पतालमा रहेको ओपीडिमा पाउने सेवा उक्त डेस्कले दिने गरेको छ । डेस्क स्थापना भएपछि सुरुका दिनमा बिरामी कर्मचरीको चाप दैनिक बीस÷बाइस जना हुने भएपनि अहिले भने कम भएको उनले बताइन् ।
यो हेल्थ डेस्कमा उपचारका लागि सबै तहका कर्मचारीहरु पुगेपनि अहिलेसम्म कुनै मन्त्री भने पुगेका छैनन् । हेल्थ डेस्कमा आकस्मिक अवस्थाका विरामीलाई उपचार गर्नका लागि आवश्यक औषधी, एकजना डाक्टर, एकजना नर्स, एकजना अहेव र कार्यालय सहयोगीको व्यवस्था गरिएको छ ।
हेल्थ डेस्कमा विरामीको आकस्मिक अवस्थामा उपचारका लागि अक्सिजन सहितको ‘बेड’ का साथै आवश्यक औषधीको व्यवस्था गरिएको छ । तर पछिल्लो समय हेल्थ डेस्कमा पर्याप्त औषधी भने छैन ।
सिंहदरबार कर्मचारी