News Technology व्यापार अर्थ कर्पोरेट प्रदेश ३

भूकम्प प्रभावित जिल्लामा निशुल्क इन्टरनेट संचालन

भूकम्प प्रभावित जिल्लामा निशुल्क इन्टरनेट संचालन

काठमाडौं । भूकम्पबाट अति प्रभावित चार जिल्लाका विभिन्न स्थानमा निशुल्क इन्टरनेट सेवा संचालनमा आएको छ। टेलिकमले तोकिएको समय भन्दा एक महिना अगावै सेवा सञ्चालनमा ल्याएको हो।

 

नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमसँग सम्झौता गरी भूकम्पबाट अति प्रभावित चार जिल्लाका ७ सय ४७ सेवा केन्द्रमा असार मसान्तसम्म इन्टरनेट सेवा उपलब्ध गराउन जिम्मेवारी दिएकोमा टेलिकमले जेठमसान्त भित्रै तोकिएका सम्पूर्ण सेवा केन्द्रहरुमा इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो।

 

प्राधिकरणले २०७४ बैशाख २१ मा नेपाल टेलिकमसँग सम्झौता गरेर ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालन गरी सो कार्य सम्पन्न गर्न टेलिकमलाई जिम्मेवारी दिएको थियो। कम्पनीले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाका २ सय १३, काभ्रेपलाञ्चोक जिल्लाका २ सय ८९, नुवाकोट जिल्लाका २ सय ५ र रसुवा जिल्लाका ४० स्थानमा इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ।

 

ति जिल्लाका ३ सय १३ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, १ सय ६९ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र २ सय ६५ विद्यालयमा विभिन्न प्रविधिमार्फत इन्टरनेट चलाउन सकिने व्यवस्था गरिएको छ। सिन्धुपाल्चोकका नगरपालिका, गाउँपालिका तथा वडाका गरी ९३ कार्यालय, ४९ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र ७१ विद्यालयमा इन्टरनेट सेवा पुगेको छ।

 

काभ्रेपलाञ्चोकका नगरपालिका, गाउँपालिका तथा वडाका गरी १२८ कार्यालय, ५८ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र १०३ विद्यालय, नुवाकोटका १२८ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, ५० हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र ८० विद्यालय तथा रसुवाका १७ नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय, १२ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र ११ विद्यालयमा सो सेवा सञ्चालन गरिएको छ।

 

सेवाग्राहीले ती स्थानमा कम्तीमा ५१२ केबीपीएस गतिको अनलिमिटेड इन्टरनेट सेवा, सेवा सञ्चालन भएको दुई वर्षसम्म निःशुल्क उपभोग गर्न पाउने व्यवस्था गरिएको छ । 

निःशुल्क इन्टरनेट

विशेष