News व्यापार अर्थ कर्पोरेट देश प्रदेश ६

चार दिनपछि जुफाल विमानस्थल सञ्चालनमा 

चार दिनपछि जुफाल विमानस्थल सञ्चालनमा 

डोल्पा । हिमाली जिल्ला डोल्पामा रहेको जुफाल विमानस्थल बुधवारदेखि सञ्चालनमा आएको छ । लगातारको वर्षाका कारण चार दिनदेखि उक्त विमानस्थल अवरुद्ध भएको थियो ।

 

वर्षाका कारण बादल र कुहिरोले अवरुद्ध रहेको नेपालगञ्ज–डोल्पाको हवाई मार्गमा बादल फाटेर आकाश खुलेपछि विमान सञ्चालन भएको जुफालस्थित नागरिक उडड्यन प्राधिकरणको कार्यालयले जनकारी दिएको छ ।

 

बुधवार समिट एयरले एउटा उडान गरे पनि तारा, सीता र नेपाल एयरलाइन्सले भने उडान गरेनन् । विमानस्थलमा यात्रुको चाप बढ्दै गएको तारा एयरका कर्मचारी देवेन्द्र शाहीले जानकारी दिए । लगातार वर्षाका कारण दैनिक हवाइ उडान अवरुद्ध हुन थालेपछि कतिपय सर्वसाधारण समयमै गन्तव्यसम्म पुग्न जोखिम मोल्दै पैदलयात्रा तय गर्न बाध्य भएको उनले बताए ।

 

जुफाल विमानस्थलमा तारा, समिट, नेपाल वायुसेवा निगम लगायतका सरकारी तथा निजी विमान कम्पनीले उडान भर्दै आएका छन् । डोल्पा सदरमुकाम दुनै अझैपनि राष्ट्रिय सडक सञ्जालमा नजोडिएकाले जिल्ला बाहिर आवतजावत गर्नेदेखि दैनिक उपभोग्य वस्तुको ढुवानीका लागि समेत हवाईजहाजकै भर पर्नुपर्ने बाध्यता यथावत छ ।

विमानस्थल जुफाल

विशेष