प्रदेश ४ को नाम गण्डकी प्रदेश
पाेखरा । प्रदेश ४ को नाम गण्डकी प्रदेश प्रस्ताव भएको छ। प्रदेश ४ को बिहिबारको संसद बैठकमा नेपाल कम्युनिस्ट पार्टीका सांसद मायानाथ अधिकारीले प्रदेशको नामको बारेमा छलफल गर्न प्रस्ताव पेश गरेका थिए ।
छलफलमा भाग लिँदै नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र पोख्रेलले सबै जातजातिको पहिचान झल्किने नाम गण्डकी नै भएको बताए । उनले सबैको साझा नाम गण्डकी भएको भन्दै नेपाली कांग्रेसले पहिलेदेखि नै गण्डकी नाम राख्न सुझाएको बताए ।
त्यसैगरी, जनमोर्चाका सांसद कृष्ण थापाले जातको आधारमा प्रदेशको नाम राख्न कठिन हुने बताए। उनले नेपालमा जम्मा ७ प्रदेश भएको र १ सय ५ जातिहरू भएका कारण नमिल्दो कुरा कसैले पनि गर्न नहुने बताए । नयाँ शक्ति पार्टीका सांसद हरीशरण आर्चायले गण्डकीसँग तमुवान पनि राख्नु पर्ने सुझाव प्रस्तुत गरे ।
१६ जना सांसदले भाग छलफलमा भाग लिँदै गण्डकी प्रदेश नाम राख्न सुझाव दिएका थिए। मंगलबारबाटै नामको बारेमा छलफल हुने भनिए पनि नेपाल कम्युनिस्ट पार्टीमा विवाद भएकोले विशेष कारण देखाउँदै संसद दुई दिन स्थगित भएको थियो ।
नेकपाले निर्णय गरेसँगै नयाँ शक्ति बाहेक सबै दलले गण्डकीको पक्षमा उभिएका छन् । ५९ जना सांसदको प्रतिनिधित्व गरेको संसदमा नयाँ शक्तिका २ जना सांसद छन् । नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा गण्डकीकै पक्षमा छन् । नेकपाभित्र भने तमुवान मगराँत, गण्डकी तमुवान वा गण्डकी भन्ने विषयमा दलभित्रै मत विभाजन थियो ।
प्रदेशको राजधानी र नामांकनबारेको समितिले बुझाएको प्रतिवेदन प्रदेश सभामा १० असारमा टेबुल भइसकेको थियो । प्रतिवेदनमा क्रमशः गण्डकी, तमुवान मगराँत, गोरखा र धौलागिरि नाम राख्न सुझाव दिइएको छ ।
प्रदेश ४ को नाम गण्डकी प्रदेश