News व्यापार अर्थ शेयर

माथिल्लो तामाकोशीको शेयर आवेदनको म्याद थप

माथिल्लो तामाकोशीको शेयर आवेदनको म्याद थप

दोलखा । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा शेयर आवेदन गर्ने म्याद थपिएको छ । दोलखाका विभिन्न पालिकाका जनप्रतिनिधिहरू, राजनीतिक दल, अधिकारवादी संस्था, सहकारी संस्था, सरोकार समिति आदिले शेयर आवेदन गर्ने समय कम भएको गुनासो गरिरहेको सन्दर्भमा आयोजनाको बैठकले आवेदनको समय थप गर्ने निर्णय गरेको हो ।

 

आवेदनका लागि गरिएको नयाँ व्यवस्थाअनुसार अब दोलखावासीका लागि छुट्याइएको १० प्रतिशत शेयर भर्न साउन १६ देखि भदौ १४ गतेसम्मको समयसीमा तोकिएको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताए ।

 

सोमवार जिल्ला समन्वय समितिको संयोजनमा बसेको दोलखाका नौओटै पालिकाका प्रमुखहरूको बैठकले पनि खेतीको समय, वर्षातका कारण आवागमनको समस्या, वित्तीय संस्थाको खाता क्लोजिङको समय भएकाले सहज रूपमा ऋण प्राप्त गर्न समस्या भएको कारण देखाउँदै साउन १६ देखि भदौ १४ सम्मको म्याद राखी शेयर आवेदनको व्यवस्था मिलाउन आग्रह गरेको थियो ।

 

जिल्ला समन्वय समिति र स्थानीय सरकारले राखेको मागको विषयमा धितोपत्र बोर्ड र इस्यु म्यानेजरबीच छलफल भई नयाँ मिति तोकिएको न्यौपानेले बताए । दोलखाबाहिरबाट पनि बैङ्कमार्फत शेयर हाल्न पाउनुपर्ने प्रस्तावका बारेमा भने धितोपत्र बोर्डमा छलफल भइरहेको उनले बताए ।

 

स्थानीयको मागप्रति आयोजना सकारात्मक रहेकोे बताउँदै न्यौपानेले वर्षात्को समयमा शेयर आह्वान गर्नु आफूहरूको चाहना नभई धितोपत्र बोर्डको नियमानुसार खुलाइएको जानकारी दिए । यसअघि माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडले असार १४ देखि साउन ९ गतेसम्मका लागि शेयर आवेदन खुला गरेको थियो ।

तामाकोशी माथिल्लो

विशेष