News देश राजनीति प्रदेश ३

निर्णय बदर गर्नुको कारण प्रष्ट पार्न काँग्रेसको माग

निर्णय बदर गर्नुको कारण प्रष्ट पार्न काँग्रेसको माग

काठमाडौं । सरकारले भदौ १४ पछिका निर्णयहरु बदर गरेर राजनीतिक द्वन्द्व निम्त्याउन खोजेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आरोप लगाएको छ । कांग्रेसले यसलाई राजनीतिक पूर्वाग्रहका आधारमा गरिएको निर्णय भनेको छ ।

 

बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले गत भदौ १४ पछिका निर्णयहरु बदर गर्ने निर्णय गरेपछि नेपाली कांग्रेसले यसमा आपत्ति जनाएको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिक सहमतिका आधारमा सबैलाई मिलाएर अघि बढ्नुको साटो दुई तिहाइ बहुमतको सरकारले राजनीतिक द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाएका छन् । 

 

कांग्रेसले भदौ १४ पछिका सबै निर्णय बदर गर्नुको कारण पनि प्रष्ट पार्नुपर्ने बताएको छ । राष्ट्रियसभाको निर्वाचन परिणाम माघमा आएको र फागुन ३ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएको बताउँदै कांग्रेस प्रवक्ता शर्माले भने, ‘के आधारमा भदौ १४ पछिको निर्णय बदर गरियो, सरकारले प्रष्ट पार्नुपर्छ ।’

 

शर्माका अनुसार कुन पद बदर भयो र कुन भएन भन्ने अझै स्पष्ट भइसकेको छैन । कतिपय व्यक्तिहरुलाई अवधि नै तोकेर नियुक्ति दिइएकाले उनीहरुले कानुनी बाटो रोज्न सक्ने शर्माले बताएका छन् । 

काँग्रेस निर्णय

विशेष