News

नियुक्ति खारेज गर्ने सरकारी निर्णयबारे कांग्रेसले भन्योः कानूनी व्यवस्थाको खिलाप

नियुक्ति खारेज गर्ने सरकारी निर्णयबारे कांग्रेसले भन्योः कानूनी व्यवस्थाको खिलाप

काठमाडाैं ।  केपी शर्मा ओली नेतृत्वको सरकारले पूर्ववर्ती शेरबहादुर देउवा सरकारका पालामा गरिएका राजनीतिक नियुक्ति खारेज गर्ने भनी गरेको निर्णयप्रति प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आपत्ति जनाएको छ । उक्त निर्णयविरुद्ध सदन र सडकमा विरोध गर्ने बताएकाे हाे ।


‘शेरबहादुर देउवा जननिर्वाचित व्यवस्थापिका संसदबाटै निर्वाचित प्रधानमन्त्री भएको, उहाँको मन्त्रिपरिषदले आचारसंहिताका बेलामा भएको आवश्यक नियुक्ति पनि निर्वाचन आयोगको सहमतीमा भएको हो । यसरी कानूनसम्मत् तरिकाबाट निश्चित अवधिका लागि गरिएको नियुक्ति बदर गरिनु कानूनी व्यवस्थाको खिलापमा भएकोले सरकारको यो निर्णयको नेपाली कांग्रेस निन्दा गर्दछ’ प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।


यस्ता निर्णयले कानुनी शासनको आधारशीलामाथि आक्रमण गर्ने र कानुनी राज्यको अवधारणालाई नै कमजोर बनाउने भन्दै कांग्रेसले यसलाई तत्काल फिर्ता लिन माग गरेको छ । ‘यस्ता निर्णयले कानूनी शासनको आधारशिलामाथि आक्रमण गर्दै कानूनी राज्यको अवधारणालाई कमजोर बनाउने स्पष्ट मनसाय यो सरकारले देखाएको छ । नेपाली कांग्रेस पार्टी सरकारको यो गैरकानूनी निर्णयको विरोध गर्दै सो निर्णय तत्काल फिर्ता लिन माग गर्दछ’ जारी विज्ञप्तिमा उल्लेख छ ।

 

बुधबार राति बसेको मन्त्रिपरिषद बैठकले १४ भदौपछि निर्वाचन आचार संहिता जारी भएको अवस्थामा सरकारले गरेको सबैखाले राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो ।


 

नेपाली काँग्रेस सरकार नियुक्ति खारेज

विशेष