News मुख्य समाचार

डा. केसीको जीवन रक्षाको माग गर्दै कांग्रेसले गर्‍याे संसदकाे दोस्रो बैठक पनि अवरुद्ध 

डा. केसीको जीवन रक्षाको माग गर्दै कांग्रेसले गर्‍याे संसदकाे दोस्रो बैठक पनि अवरुद्ध 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डा.गोविन्द केसीको जीवन रक्षाकाे माग गर्दै प्रतिनिधिसभाको दोश्रो बैठक पनि अवरुद्ध गरेको छ । डा.केसीको जीवन रक्षाको माग गर्दै संसद सचिवालयमा दर्ता गरेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव कार्यसूचीमा नराखेको भन्दै कांग्रेसले शुक्रबार दोस्रो पटक ससंद बैठक अवरुद्ध गरेको हो ।

 

प्रतिनिधिसभाको आजै बसेको पहिलो बैठक पनि कांग्रेसकै विरोधका कारण अवरुद्ध भएको थियो । त्यतिबेला सभामुख  कृष्णबहादुर महराले संसद बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए । सभामुख महराले प्रतिनिधिसभाको शुक्रबारको दोश्रो बैठकको कारबाही सुरु भएको जानकारी गराउन नपाउँदै कांग्रेसका सांसदहरूले उभिएर विरोध गरेका थिए ।

 

सभामुख महराले समय दिएपछि बोलेका सांसद दिलेन्द्रप्रसाद बडूले जरुरी सार्वजनिक महत्वको प्रस्ताव कार्यसूचीमा नराखेसम्म बैठक चल्न नदिने बताए । उनले डा.केसीको अनसनतर्फ सिंगो देशको ध्यानाकर्षण भए पनि सरकारले बेवास्ता गरेको टिप्पणी गरे ।

 

बडूले संसद र सांसदमा उठेको सार्वजनिक महत्वको विषयमा सरकार गैरजिम्मेवार र गैरजवाफेही बन्न नमिल्ने भन्दै सदनप्रति सरकारलाई जवाफदेही बनाउन सभामुखको ध्यानाकर्षण गराएका थिए ।

 

सभामुख महराले महत्वपूर्ण विषयप्रति सरकारकाे ध्यानाकर्षण भएको र अर्को बैठकमा कार्यसूचीमा राखिने आश्वासन दिए पनि कांग्रेस सांसदहरूले उठेर विरोध गरिरहेपछि बैठक असार २५ गतेसम्मका लागि स्थगित भएको छ ।
 

संसद बैठक स्थगित नेपाली काँग्रेस विरोध

विशेष