चिकित्सक संघद्वारा आन्दोलनको कार्यक्रम घोषणा

चिकित्सक संघद्वारा आन्दोलनको कार्यक्रम घोषणा

काठमाडाैं । नेपाल चिकित्सक संघले वरिष्ठ चिकित्सक गोविन्द केसीको जायज माग तत्काल सम्बोधन गर्न सरकारलाई दबाब दिन आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी वरिष्ठ चिकित्सक केसीको जायज माग तत्काल सम्बोधन गर्न सरकारलाई दबाब दिन शुक्रबारबाटै लागू हुनेगरी आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । 

 

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जस्ताको तस्तै संसदमा ल्याउन र वरिष्ठ चिकित्सक केसीको जीवन रक्षाको माग गर्दै आफूहरुले सरकारलाई दबाब दिन आन्दोलनको कार्यक्रम घोषणा गर्नुपरेको संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले जानकारी दिए ।

 

आन्दोलनको कार्यक्रम अनुसार शुक्रबारबाटै देशभरका सबै चिकित्सकहरुलाई कालोपटी बाँधेर काम गर्न आह्वान गरिएको छ । अध्यक्ष श्रेष्ठले वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन गर्न प्रधानमन्त्री केपी ओली र उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई आइतबार ज्ञापन पत्र बुझाउने पनि जानकारी दिए ।

 

संघले वरिष्ठ चिकित्सक केसीसँग विगतमा गरिएका सहमति ७२ घण्टा भित्र सम्बोधन नभए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिएको छ ।विगतका सरकारले वरिष्ठ चिकित्सक केसीसँग पटक–पटक गरेको सहमति ७२ घण्टाभित्र सम्बोधन नभए आफूहरु दोस्रो चरणको आन्दोलनमा जान बाध्य हुने पनि अध्यक्ष श्रेष्ठले बताए ।

 

संघले जुम्लामा आमरण अनसन बस्नु भएका वरिष्ठ चिकित्सक केसीको स्वास्थ्य अवस्था बुझन उपाध्यक्ष डा. ढुण्डीराज पौडेल र सहकोषाध्यक्ष डा. प्रकाश बुढाथोकीलाई अनसनस्थल पठाउने निर्णय पनि गरेको छ ।

चिकित्सक संघ

संम्बधित खबर

विशेष