News विदेश

पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफका बाबुछोरीलाई जेल सजाय

पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफका बाबुछोरीलाई जेल सजाय

 एजेन्सी । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री नवाज सरिफलाई भ्रष्टाचार अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । बेलायती राजधानी लन्डनको एभेनफिल्ड हाउसस्थित उनको विलासी फ्ल्याटसँग जोडिएको भ्रष्टाचार अभियोगमा ‘नेसनल एकान्टिबिलिटी ब्युरो’ (एनएबी) अदालतले १० वर्षे कारावास सजायँको फैसला दिएको हो। 

 

उनी पत्नी कुलसुम नवाजसहित हाल लन्डनमा छन्, जहाँ कुलसुमको घाँटीको क्यान्सरको उपचार चलिरहेको छ । अदालतले उनलाई राजनीतिक रूपबाट प्रेरित आरोपहरूमा सुनुवाइका लागि उपस्थित हुन आदेश पनि दिएको छ। 

 

उनकी छोरी मरियम नवाजलाई पनि अदालतले सात वर्षे कारावासको सजायँ सुनाएको छ । अदालतको फैसलापछि मरियम नवाज चुनाव लड्नका लागि अयोग्य भएकी छिन् । पाकिस्तानमा जुलाई २५ मा चुनाव हुँदैछ । मरियम लाहोरबाट चुनावमा उठ्दै थिइन् ।

 

अदालतले फरार सूचीमा राखेका उनका ज्वाईं अवकाशप्राप्त क्याप्टेन सफ्दार तथा दुई छोराहरू हसन र हुसेनलाई पनि उक्त प्रकरणमा जोडिएको छ।पूर्वप्रधानमन्त्री सरिफले आफूमाथि लगाइएका अभियोग अस्वीकार गर्दै आएका छन्। 

 

२८ जुलाई २०१७ मा अदालतले प्रधानमन्त्री बन्न अयोग्य घोषणा गरेपछि सरिफले पदबाट राजिनामा दिएका थिए । सत्तामा रहँदा सेनासँग ठूलो मतभेदका कारण उनले बारम्बार पदच्युत हुनु परेको थियो । सन् १९९९ मा उनलाई सत्ताबाट हटाउन सेनाले रक्तपातविहीन विद्रोह नै गरेको थियो। 

 

एक साताअघि लन्डनमा आयोजना गरेको पत्रकार सम्मेलनमा सरिफले पत्नीको उपचार सकिएपछि पाकिस्तान फर्किने बताएका थिए । अदालतले दोषि ठहर गरे या नगरे पनि आफू स्वदेश फर्किने उनको भनाइ थियो। 

 

जियो टेलिभिजनका अनुसार अदालती फैसलापछि अशान्ति फैलिने शंकामा पाकिस्तानी राजधानी शहर इस्लामावादमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । एक ठाउँमा जम्मा भएर बस्न तथा सभा–जुलुस गर्न नपाइने घोषणा प्रशासनले गरेको छ। 

जेल सजाय पूर्वप्रधानमन्त्री नवाज सरिफ मरियम

विशेष