भारतले गर्याे नेपालमा अायातित विद्युत्को मूल्य बढाउने प्रस्ताव
काठमाडौं । भारतले विद्युत् आदानप्रदान प्रावधानअनुसार नेपालमा आयात भइरहेको विद्युत्को मूल्य बढाउने प्रस्ताव गरेकाे छ । भारतको राजधानी नयाँ दिल्लीमा यही असार २१ र २२ गते सम्पन्न विद्युत् आदानप्रदान समितिको १२ औँ बैठकमा भारतले २० प्रतिशतसम्म महसुल बढाउन प्रस्ताव गरेको हाे ।
तर, नेपाल विद्युत् प्राधिकरणले हाल खरिद गरिरहेको विद्युत्को मूल्य नै बढी भएको भन्दै कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको नेपाली टाेलीले उक्त प्रस्ताव अस्वीकार गरेको छ ।
प्राधिकरणले हाल भारतबाट १ सय ३२ केभी क्षमताको प्रसारण लाइनमार्फत भारतीय मुद्रा ५.५५ र ३३ केभी क्षमताका प्रसारण लाइनमार्फत भारतीय मुद्रा रु ६ मा विद्युत् आयात गरिरहेको छ । प्राधिकरणले न्यूनतम भारु ५.५५ र अधिकतम भारु ६.४५ मा विद्युत् खरिद गर्दै आएको छ ।
कूल ११ केभी क्षमताको प्रसारण लाइनमा प्रतियुनिट रु १०.३२ पैसा (भारु ६.४५), ३३ केभी प्रसारण लाइनमा प्रतियुनिट रु ९.६० पैसा (भारु ६) र १३२ केभीमा प्रतियुनिट रु ८.८८ पैसा (भारु ५.५५) मा विद्युत् खरिद गरिरहेको छ । समितिको अर्को बैठक फेरि ३ महिनाभित्रै बस्ने निर्णय भएको छ ।