News समाज प्रदेश ६

लोपोन्मुख राउटे  गुराँस गाउँपालिकाका स्थायी नागरिक

लोपोन्मुख राउटे  गुराँस गाउँपालिकाका स्थायी नागरिक

दैलेख ।  राउटे समुदायहरुको कुनै स्थायी ठेगाना छैन । नागरिकता पनि छैन । उनीहरु कर्णाली प्रदेशका विभिन्न जिल्लामा फिरन्ते जीवन विताइरहेका छन् । सरकारले पटकपटक आग्रह गर्दा पनि एकै ठाउँमा बस्न मान्दैनन् । उनीहरुलाई सरकारले मासिक भत्ताको व्यवस्था समेत गरेको छ ।

 

राउटेलाई सरकारले व्यवस्थित रुपमा बस्ती बसाउन पहल गरेपनि सम्भव भएन तर अब उनीहरुलाई स्थायी ठेगनासहितको परिचयपत्र दिइने भएको छ । दैलेखको गुराँस गाउँपालिकाले उनीहरुलाई आफ्नै स्थायी नागरिक बनाउने गरी परिचयपत्र दिने भएको हो ।

 

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले उनीहरुको नाम थर खुल्नेगरी परिचयपत्र वितरण गर्न परिपत्र दिएसँगै अब राउटेहरुको स्थायी ठेगाना गुराँस गाउँपालिका, दैलेख कायम हुने भएको हो ।

 

उनीहरुलाई नियमित निगरानी राख्न तथा स्वास्थ्य शिक्षाको पनि शुरुआत यसै आर्थिक वर्षबाट गरिने गाउँपालिकाले जनाएको छ । जसको लागि दुईजना कर्मचारीसमेत नियुक्त गरिसकिएको गाउँपालिकाका अध्यक्ष खेमराज वलीले जानकारी दिए ।

 

नियुक्त गरिएका कर्मचारी र राउटेलाई दिइने भत्ताको लागि संघीय सरकारले गाउँपालिकाको खातामा १ करोड २७ लाख रकम पठाइसकेको अध्यक्ष वलीले बताए ।


उनले राउटेलाई दिइने परिचयपत्र छपाइको काम भइसकेको भन्दै अबको केही दिनमै नाम थरसहित ठेगाना गुराँस गाउँपालिका भएको परिचयपत्र वितरण गर्ने तयारी गरिएको बताए ।

 

राउटे समुदायका मुखिया सुर्यनारायण शाहीले आफूहरुलाई भत्ता लिन ठाउँठाउँ जान समस्या हुने गरेको भन्दै अब एकै ठाउँबाट भत्ता लिँदा आफ्ना जनता भोकै बस्नु नपर्ने बताए । 

लोपोन्मुख राउटे

विशेष