प्रधानमन्त्रीकाे कांग्रेसलार्इ प्रश्नः कानुन संसदले बनाउने हो कि बाहिरबाट ल्याएर थपडी ठोक्ने हो?
‘नेपाली विद्यार्थीलाई स्वदेशमा पढ्न नदिने, विदेश पठाउनु पर्ने ?'
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले कमजोर त्यान्द्रा समाएर आन्दोलन गर्न खोजेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई सोमबार सम्बोधन गर्दै उनले कांग्रेसले सानो कुरालाई लिएर आन्दोलन गर्ने बाटो खोजिरहेको बताए ।
कांग्रेसप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने ‘कसैलाई उक्साएर जुम्लामा भोकै सुत्न लगाएर काठमाडौंका सडकमा केही मान्छे कराइ रहेका छन् । बेमौसममा कराउनेहरू केही दिनमा आफैं चुप लाग्छन् ।’
उनले चिकित्सा शिक्षा विधयक, डा.गोविन्द केसी, उपकुलपतिकाे भ्रमणबारे सांसदहरूलाई अडानका साथ कुरा राख्न आग्रह गरे । ‘हामीले नराम्रो केही गरेका छैनौं । दृढताका साथ कुरा राख्नु पर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘अरु चाहिँ साउनको सिस्नु जस्तो फस्टाउने अनि हामी चाहिँ ओइलाउने हुन्छ?’
उनले कांग्रेस हरेक कुरा संसदमा ल्याएर बहस गर्न चुनौति दिए । ‘विधि, विधान, कानुन संसदले बनाउने हो कि बाहिर बनाएर ल्याएर संसदमा थपडी ठोक्ने हो?’, प्रधानमन्त्रीको प्रश्न गरे ।
काठमाडौंमा १० वर्ष मेडिकल कलेज खोल्न नपाउने, एउटा विश्व विद्यालयले पाँचवटा भन्दा बढी कलेजलाई सम्बन्धन नदिने जस्ता कुरा व्यबहारिक नभएको प्रधानमन्त्री ओलीको भनाइ छ । उनले भने ‘कुन विषयमा कति कलेज आवश्यक छ, त्यसको अध्ययन गरौं अनि आवश्यकता अनुसार कलेजलाई सम्बन्धन दिऔं।’
संसदमा पेश भएको चिकित्सा शिक्षा विधयक सरकारको नीति अनुसार नै भएको प्रधानमन्त्री ओलीको भनाई छ । ‘सरकारले आफ्ना नीति अनुसारका ऐन ल्याउँछ, यसमा के अनौठो भयो र?’, प्रधामन्त्रीले भने, ‘नेपाली विद्यार्थीलाई स्वदेशमा पढ्न नदिने, विदेश पठाउनु पर्ने ?, हजारौं बिगाहा जमिन खरिद गरेर, भवन बनाएर चलाएका अस्पतालहरुलाई कलेज बनाउन रोक्न मिल्दैन ।’
संस्कृत विश्व विश्व विद्यालयका उपकुलपति स्विकृत नलिइ विदेश जान लागेकोले उनलाई रोकिएको प्रधानमन्त्रीले स्पष्ट पारे । संस्कृत विश्व विद्यालयका उपकुलपतिको बारेमा थुप्रै उजुरी परेको र तिनको निष्पक्ष छानबिन हुने प्रधानमन्त्री ओलीले बताए ।