News

राष्ट्रिय सभामा प्रधानमन्त्रीकाे सम्बाेधनः ५ महिनामै सडकका खाल्डाखुल्डी पुरेर सकिदैन

'तुइन हटाएर झोलुङ्गे पुल नबने केबलकार बनाउँछाैँ'

राष्ट्रिय सभामा प्रधानमन्त्रीकाे सम्बाेधनः ५ महिनामै सडकका खाल्डाखुल्डी पुरेर सकिदैन

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राज्यका शक्तिहरू केन्द्रीत गरेर शक्तिशाली कहलिन  नखाेजेकाे बताएका छन् । राष्ट्रिय सभाका सांसदले उठाएको प्रश्नको सोमबार जवाफ दिँदै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

 

वर्तमान सरकारले मितव्यीतालाई पहिलो प्राथमिकतामा  बताउँदै प्रधानमन्त्रीले शक्ति केन्द्रिकरण गर्न खाेजेकाे विपक्षीकाे अाराेपकाे खण्डन पनि गरे । यसअघि प्रधानमन्त्रीले धेरै सरकारी निकाय प्रधानमन्त्री मातहतमा किन ल्याइए भन्ने सांसदहरूको प्रश्नमा पञ्चायतकालमा सानो कुरामा पनि जनमत संग्रहको चर्चा भएजसरी अहिले जे कुरामा पनि ‘अधिनायकवाद’को चर्चा हुने गरेको बताए । 

 

उनले राष्ट्रिय अनुसन्धन विभागलाई भ्रष्टाचार निर्मुल र प्रभावकारी परिचालनका लागि प्रधानमन्त्री कार्यलयमातहत ल्याएको बताए । खर्चका सम्बन्धमा पनि प्रधानमन्त्री ओलीले कार्यलयमातहत छुट्याएको बजेट ठुलो देखिए पनि प्रधानमन्त्रीको कार्यालयले खर्च गर्ने नभई तिनै कार्यलयले गर्ने पनि बताए । 

 

‘अहिले सरकारले मितव्ययीताको नीति अपनाएको छ, खर्च बढि गर्दैन ।’ प्रधानमन्त्रीले आफुले बालुवाटारमा दुध चिनी नहालेको चिया खाने गरेको माननीयहरुले नै देखेको भन्दै यो पनि मितव्ययीता भएको दावी गरे ।

 

५ महिनामै खाल्डाखुल्डी पुरेर सकिदैन

प्रधानमन्त्री ओलीले सरकार बनेको ५ महिनामात्रै भएकाले सडकका सबै खाल्डाखुल्डी पुरेर नसकिने प्रष्टीकरण दिएका छन् । उनले दशकौंदेखि परेका खाल्डो ४/५ महिनामै पुरेर नसक्ने बताएका हुन् ।

 

‘दशकौंदेखि खाल्डो परेका छन् । ४/५ महिनामा सलल हिँड्ने बनाउनुपथ्र्यो, तर माननीयज्यूहरुले जति विश्वास गरे पनि ४/५ महिनामा कति काम गर्न सकिन्छ भन्ने त्यसको सीमा हुन्छ’ उनले भने ।

 

अहिलेसम्म खाल्डाखुल्डी कति छ भन्ने रेकर्ड पनि संकलन गरेर नभ्याएको प्रधानमन्त्री ओलीले बताए । ‘सबै कुराको रेकर्ड पनि छैन । कहाँ कहाँ भत्केको छ । अनि स्टे अर्डरले पनि हैरान पारेको छ । बाटो बनाउन गयो अघि अघि स्टे अर्डर आइसक्छ । सम्मानित अदालतको फैसला मान्नैपर्‍यो’ उनले भने ।


 रोजगारी 

उनले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कृषि, प्रशोधन केन्द्र, उद्योग स्थापना, व्यापार, शिक्षा, स्वास्थ्य मार्फत रोजगार स्थापनामा सरकारले काम गर्ने बताए । ‘अहिलेको सरकारले गरिबी हटाएर छोड्छ’, प्रधानमन्त्री ओलीले भने, ‘नेपाल जस्तो देशमा खाना नपाएर कोही मर्ने छैन ।’


तुइनमा केबलकार

उनले यसअघि आफु पहिलो पटक प्रधानमन्त्री हुँदा तुइन विस्थापन गर्न थालेको प्रयासले अहिले तिव्रता पाएको भन्दै उनले अव एउटा पनि तुइन नरहने दोहोर्याए ।

 

‘१६ वटा स्थानमा तुइन हटाउन नसक्ने प्राविधिकले बताएका छन्, ती ठाउँमा पनि झोलुङ्गे पुल बन्छ, झोलुङ्गे पुल नबने कि पक्की पुल बन्छ कि केबलकार स्थापना हुन्छ’, ओलीले भने, दुईवर्ष अघि खिचेका फोटा देखाएर सरकारको विरोध गर्नुको औचित्य छैन ।’

 

९५ वटा तुइन हटे पनि मन्त्रालयहरुले प्रचार गर्न नसक्दा पहिलेका तुइनको फोटो खिचेर विपक्षीले उडाएकाे प्रधानमन्त्री ओलीले अाराेप लगाए ।

 

 डा. गोविन्द केसीप्रति व्यङ्ग्य

सांसदहरुले योजना आयोगमा भूगोल अनुसारको विज्ञ नराखेको प्रश्नको जवाफ दिँदै ओलीले सबै विज्ञले भूगोल बुझेको बताए । प्रधानमन्त्री ओलीले डाक्टर गोविन्द केसीतिर लक्षित गर्दै  भने, ‘कोही–कोही कस्ता भाग्यमानीको हुन्छन् । जुम्ला जाँदा उधुम मचिन्छ र कोही गएको पनि थाहा हुँदैन । कतिले प्रचार गरेर हिँड्छन । कतिले गर्दैनन् । त्यसैले भूगोल बुझेका विज्ञ योजना आयोगमा छैन भन्ने कुरा सत्य होइन ।’ 
 

प्रधानमन्त्री ओली

विशेष