News व्यापार अर्थ शेयर प्रदेश ३

सर्वोच्चको आदेश : युनाइटेडको अग्नि बीमा कारोबार फुकुवा

सर्वोच्चको आदेश : युनाइटेडको अग्नि बीमा कारोबार फुकुवा

काठमाडौं । बीमा समितिले युनाइटेड इन्स्योरेन्स कम्पनीलाई अग्नि बीमा कारोबारमा लगाएको रोक फुकुवा भएको छ । सर्वोच्च अदालतले अन्तरकालीन आदेश जारी गर्दै युनाइटेड इन्स्योरेन्सको अग्नि बीमा कारोबार फुकुवा गरेको हो ।

 

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सपना प्रधानको संयुक्त इजलाशले युनाइटेडलाई अग्नि बीमा कारोबार सुचारू गर्न अन्तरकालीन आदेश जारी गरेको हो ।बीमक संस्थागत सुशासनको अवस्था चित्तबुझ्दो नदेखिएपछि बीमा समितिले गत चैत ३० गते युनाइटेडको अग्नि बीमा कारोबारमा रोक लगाएको थियो ।

 

चौधरी ग्रूपको सतुङ्गलस्थित एक गोदाममा भएको आगलागीमा युनाइटेडले वास्तविक क्षतिभन्दा बढी दाबी भुक्तानी दिएर संस्थागत सुशासनको उल्लङ्घन गरेको समितिको भनाइ छ । उक्त विषयको मुद्दामा पाटनस्थित उच्च अदालतले गत चैत १२ गते बीमा समितिको पक्षमा अन्तिम फैसला गरेको थियो । सोही पैmसलाअनुसार नै समितिले युनाइटेडलाई अग्नि बीमा कारोबारमा रोक लगाएको थियो ।

 

उच्च अदालतको उक्त फैसला चित्तबुझ्दो नभएको दाबी गर्दै कम्पनीले सर्वोच्चमा मुद्दा दोहोर्‍याइ पाऊँ भनी निवेदन दिएको थियो । सो निवदेनको सुनुवाइ भएपछि अहिले उक्त मुद्दा सर्वोच्चमा उच्च अदालतको तहमा विचाराधीन अवस्थामा रहेको छ ।

 

कम्पनीले उक्त मुद्दाको अन्तिम फैसला नहुन्जेलसम्म अग्नि बीमा कारोबार गर्न पाऊँ भनेर सर्वोच्चमा अन्तरकालीन आदेश माग गर्दै निवेदन दिएको थियो ।

 

उक्त निवेदनउपर अन्तरकालीन आदेश जारी गर्दै सर्वोच्चले अग्नि बीमा कारोबार गर्न बाटो खुला गरिदिएको हो । कम्पनीले सर्वोच्चबाट लिखित फैसला प्राप्त भएपछि आवश्यक प्रक्रिया पुर्‍याएर अग्नि बीमा कारोबार सुचारू गर्ने बताएको छ ।

सर्वोच्च आदेश

विशेष