रङ्गशालाको विरोधमा स्थानीयवासी
काठमाडाैं । भक्तपुरको सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा बन्ने भनिएको रङ्गशालाको विरोधमा स्थानीयवासी एक भएका छन् । कृषिका लागि निक्कै उपयोगी मानिएको भक्तपुरको सिपाडोल, नंखेल, चित्तपोल, ताथली र सुडालमा एक हजार ५०० रोपनी क्षेत्रफलमा बनाउने प्रस्ताव गरिएको अन्तर्राष्ट्रिय रङ्गशालाको विरोधमा स्थानीयवासी एक भएका हुन् ।
सो क्षेत्रका स्थानीयवासी तथा किसानलाई उठिबास गराउन रङ्गशाला बनाउन लागिएको भन्दै उनीहरुले रङ्गशाला निर्माण पीडित सङ्घर्ष समिति गठन गरी आज जिल्ला प्रशासन कार्यालय, काठमाडौँ उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय भक्तपुर र सूर्यविनायक नगरपालिकामा विरोध पत्र बुझाएका छन् । विरोध कार्यक्रममा सहभागी स्थानीयवासी सरिता देउजाले घरखेत सबै खोस्ने गरी रङ्गशाला बनाउन लागिएको थाहा भएपछि आफूहरु तनावमा परेको बताए । उनले भने, ‘जनताको खेतीयोग्य जमीन र घरलाई विस्थापित गरेर विकासको नाममा विनाश गर्न खोजेको छ । यस्तो कार्य हामी जनतालाई सह्य हुँदैन ।’
अर्का स्थानीय रघुवीर कार्कीले सूर्यविनायक नगरपालिका–१० का वडाध्यक्ष शिवराम राउतले जनतालाई झुक्याउने र अल्मल्याउने काम गरेको आरोप लगाए । उनले भने, ‘सयौँ परिवारका हजारौँ जनताको चाहना विपरीतको दुःख दिने काम हुन लागेको छ, हामी त्यसको प्रतिकार गर्छौं ।’सङ्घर्ष समितिका संयोजक शिवशरण कार्कीले रङ्गशाला निर्माण गर्न गठित कार्यदलको काम र त्यस क्षेत्रको जग्गाको कित्ताकाट, नक्सापास रोक्का गरेको निर्णयसमेत तत्काल खारेज गर्न माग गरे । कार्कीका अनुसार चित्तपोलको भकारी मूलमा रङ्गशाला निर्माण भए ५०० देखि एक हजार घरधुरी विस्थापित हुने तथा करीब दुई हजार जनताको खेतीयोग्य जमीन विनाश हुनेछ ।