साथीको नामबाट परीक्षा दिने विद्यार्थी पक्राउ
काठमाडाैं । साथीको नामबाट परीक्षा दिने एक विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । नीलकण्ठ मावि परीक्षाकेन्द्रबाट शनिबार एक नक्कली विद्यार्थीलाई परिक्षा दिने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जनकल्याण माविबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुनुपर्ने मिलन घिमिरेको स्थानमा गल्छी गाउँपालिका वडा न.–४ बेल्खुका १७ वर्षीय विक्रम गुरुङले परक्षा दिइरहेको भेटिएपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले बताए । सिम्बल नम्बर ०२६०१४२३ ‘एस’ का घिमिरेको स्थानमा ०२६१४०३ ‘वाइ’ सिम्बोल नम्बरका गुरुङले परीक्षा दिएका थिए ।
दुवैजना एउटै विद्यालयमा अध्ययन गर्ने विद्यार्थी भएकोले ढाँटेर परीक्षा दिइरहेको अवस्थामा केन्द्राध्यक्ष विष्णु सिलवालले थाहा पाएपछि प्रहरीलाई लिखित उजुरी गरी गुरुङलाई पक्राउ गरिएको थियो ।