नेपाली भारोत्तोलन टोली थाइल्याण्डतर्फ प्रस्थान
काठमाडाैं । इण्डोनेसियामा हुने १८ औँ एसियाली खेलकूदमा सहभागी हुने नेपाली भारोत्तोलन टोली वैदेशिक प्रशिक्षणका लागि आज थाइल्याण्डतर्फ प्रस्थान गरेको छ । एसियाडअन्तर्गत भारोत्तोलनतर्फ पुरुषमा आठ र महिलामा सात गरी १५ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
नेपालले भने पुरुष÷महिलामा समान २–२ गरी चार स्पर्धामा सहभागिता जनाउनेछ । पुरुषमा कमलबहादुर अधिकारीले ६९ केजी तथा विकास थापाले ७७ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । कमल १० औँ सागका स्वर्णधारी तथा विकास १२ औँ सागका रजत विजेता हुन् । त्यस्तै महिलाको ५३ केजीमा सञ्जु चौधरी तथा ७५ केजीमा १२ औँ सागकी कांस्य विजेता तारादेवी पुनले भाग लिनेछन् ।
चारै खेलाडी आ–आफ्नो स्पर्धाका राष्ट्रिय कीर्तिमानधारी हुन् । प्रशिक्षकमा दिनेश भुजेल रहेको छ । सन् १९८२ मा भारतमा भएको एसियाली खेलकूदमा नेपालले पहिलोपटक भारोत्तोलनमा सहभागिता जनाएको थियो । त्यसयता एकपटक १९९४ मा जापानको हिरोसिमामा भएको एसियाडमा मात्र नेपालले भारोत्तोलनमा सहभागिता जनाएको छ ।
टोलीलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले सफलताको शुभकामना दिँदै बिदाइ दिए ।