बन्द रहेको सिमेन्ट उद्योग सञ्चालनमा
रोल्पा । रोल्पा सिमेन्ट प्रालि र स्थानीय टिपर व्यवसायीबीचको असमझदारीका कारण बन्द रहेको रोल्पा सिमेन्ट उद्योग सञ्चालनमा आएको छ ।
उद्योगसँग भएको सम्झौता बमोजिम आफूहरूले उद्योगको सामान ढुवानी गर्न पाउनुपर्ने माग राखी टिपर व्यवसायीले १० दिनदेखि आन्दोलन गरेका कारण उद्योग बन्द भएको थियो । लगातार सात दिन उद्योग बन्द भएपछि त्रिवेणी गाउँपालिकाले दुवै पक्षसँग छलफल गरी उद्योग सञ्चालनको वातावरण मिलाएको हो ।
गत असारमा प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुखलगायतको उपस्थितिमा उद्योग र स्थानीयवासीबीच भएको सम्झौतामा स्थानीय टिपर व्यवसायीलाई काम लगाउने उल्लेख भएको व्यवसायीले बताएका छन् । सम्झौता तत्काल कार्यान्वयन गर्ने भनिए पनि लामो समयसम्म काम लगाउन उद्योगले तत्परता नदेखाएकाले आन्दोलन घोषणा गर्न बाध्य भएको टिपर व्यवसायीले बताएका छन् ।
पछिल्लो पटक भएको सम्झौता बमोजिम उद्योगले स्थानीय टिपर व्यवसायीका १० टिपर काममा लगाउने भएको छ । जसका लागि उद्योगदेखि दाङको अमेलिया डिपोसम्म प्रतिटन ८ सय ३५ का दरले भाडासमेत निर्धारण गरिएको बताइएको छ ।
व्यवसायीले प्रतिटन ९ सय को माग गरेको र उद्योगले ८ सय भन्दा दिन नसकिने भनिरहेको बेला त्रिवेणी गाउँपालिकाले दुवै पक्षलाई मान्य हुने गरी प्रतिटन ८ सय ३५ निर्धारण गरिदिएपछि दुवै पक्ष सहमत भएको त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले बताए ।
रोल्पा त्रिवेणी गाउँपालिका–३ बुढागाउँमा विसं ०६६ मा स्थापना भएको उक्त उद्योगले दैनिक दुई हजार ५ सय बोरा सिमेन्ट उत्पादन गर्दै आएको छ । एक सय बढी प्राविधिक तथा अन्य कर्मचारी र मजदुरले रोजगारी पाएको उक्त उद्योगबाट उत्पादित सिमेन्ट भने जिल्ला बाहिर जाने गर्दछ ।
रोल्पा सिमेन्ट प्रालि स्थानीय टिपर व्यवसायी बन्द रहेको उद्योग सञ्चालनमा