कम्बोडियामा प्रधानमन्त्रीको दललाई प्रचण्ड बहुमत
नोम्पेन्ह । कम्बोडियामा हालै भएको संसदीय निर्वाचनमा यहाँका प्रधानमन्त्री समडेच टेचो हुनसेनको सत्तारुढ दललाई प्रचण्ड बहुमत प्राप्त भएको छ ।
गत जुलाई २९ मा सम्पन्न भएको आम निर्वाचनको शनिबार प्राप्त भएको अनौपचारिक परिणामअनुसार प्रधानमन्त्री हुनसेन कै सत्तारुढ दल कम्बोडियन पिपुल्स पार्टी (सिपीपी)लाई अत्यधिक बहुमत प्राप्त भएको बताइएको छ ।
गएको जुलाई २९ मा सम्पन्न भएको आमनिर्वाचनको परिणाम शनिबार मात्र सार्वजनिक भएको हो । यो परिणामलाई यहाँको निर्वाचन आयोगले औपचारिकता दिन भने बाँकी नै छ ।
सो निर्वाचनमा २० ओटा राजनीतिक दलले प्रतिश्पर्धा गरेका बताइएको थियो । ती दलमध्ये उक्त सिपीपीले नै बहुमत ल्याएको हो ।
कम्बोडियाको राष्ट्रिय निर्वाचन आयोगले शनिबार सार्वजनिक गरेको परिणामअनुसार प्रधानमन्त्री हुन सेनको दल सिपीपीले ४८ लाख आठ हजार मत प्राप्त गरेको छ ।
यो मत कम्बोडियाली संसदीय निर्वाचनमा खसेको सदर मतको ७६.८४ प्रतिशत हुन आउँछ । यो दुई तिहाई भन्दा पनि बढी हो । उता राजकुमार नरोदम रनारिधको फनसिनपेकको दलले भने जम्मा तीन लाख ७४ हजार अर्थात ५.८८ प्रतिशत मत मात्र प्राप्त गरेको छ ।
यो नै कम्बोडियाको यो पछिल्लो निर्वाचनमा निकटतम मत ल्याउने प्रमुख प्रतिपक्षी दल हो । त्यसपछि मत ल्याउने अर्काे दलको मत ४.८६ प्रतिशत मात्र हो ।
यहाँको निर्वाचन आयोगले यस निर्वाचनको औपचारिक परिणाम भने यही अगष्ट १५ मा सार्वजनिक गरिने जानकारी दिएको प्राप्त समाचारमा जनाइएको छ ।
यहाँको संसदका १२५ स्थानमध्ये सबै सिटमा नै उक्त दलले जित हासिल गरेको छ । सत्तारुढ दलले नै सबै सिटमा जित हासिल गरेको अनौपचारिक परिणाम आएपछि विपक्षी दलको भने अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।
प्रधानमन्त्री हुन सेन ६७ वर्षका भए । उनी कम्बोडियामा गएको ३३ वर्षदेखि निरन्तररुपमा सत्तामा छन् । अब यो परिणामपछि पनि आगामी पाँच वर्षका लागि उहाँले देशको कार्यकारी प्रमुखको नेतृत्व गर्ने निश्चित भएको छ ।
प्रधानमन्त्री हुन सेनले केही हप्तामात्र अघि आगामी सेप्टेम्बर महिनाको ५ तारिखमा नयाँ संसद् बन्ने र नयाँ संसद्ले आगामी नयाँ सरकार निर्माणका लागि मतदान गर्नेछ भनी सार्वजनिक गरेका थिए ।