कोटेश्वरको जाम हटाउन जुर्मुराए सांसद बस्नेत
काठमाडौं । भक्तपुरको लोकन्थलीदेखि जडीबुटी हुँदै कोटेश्वरसम्मको जाम घटाउन वैकल्पिक सडक सञ्चालनमा ल्याइने भएको छ ।
भक्तपुर क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य महेश बस्नेतको अगुवाइमा ‘सुरक्षित भक्तपुर, जाममुक्त भक्तपुर’ अभियानअन्तर्गत सवारी जाम कम गर्न वैकल्पिक सडकको अवलोकनपछि सडक मर्मत तथा ग्राभेल बिछ्याउन थालिएकोे छ ।
‘कोटेश्वर–जडीबुटीको जाम हटाउन, अरनिको राजमार्गलाई सुरक्षित र उज्यालो पार्न सरोकारवाला निकायसँग समन्वय गर्न थालिएको छ’, सांसद बस्नेतले भने ।
उनले नयाँ सञ्चालनमा ल्याउन लागिएको पेप्सीकोला–जडीबुटी सडकबाट चाहबिल जाने सवारीसाधन सञ्चालन गराइने, ललितपुर जाने सवारीसाधनलाई मनोहरा आँखा अस्पतालबाट टीकाथली तथा बालकुमारी सडक मर्मत सकिएलगत्तै दुईटा बेलिब्रिज राखेर यातायात सञ्चालन गराइने तयारी गरिएको जानकारी दिए ।
४३ करोडको लगानीमा सञ्चालित मनोहरा जग्गा एकीकरण आयोजनामा रहेकोे नौ मिटर चौडा सडकमा केही दिनमै एकातर्फी यातायात सञ्चालनमा ल्याइने भएको छ । त्यस्तै मनोहरा नदीको दायाँबाँया २०÷२० मिटर चौडा रहने गरी निर्माण हुन लागेको मनोहरा करिडोर सडक तत्काल निर्माण गर्न सांसद बस्नेतले ठेकेदार भीम श्रेष्ठलाई आग्रह गरे ।
मनोहरा करिडोर निर्माणको जिम्मा पाएका ठेकेदार भीम श्रेष्ठले मनोहरा नदीको करिडोर निर्माण सुरु भइसकेकामा यहाँका सुकुम्बासी बस्ती तथा स्थानीय सरोकारवाला व्यक्तिले निर्माण कार्यमा अवरोध पु¥याएकाले समस्या आएको बताए ।
करिडोर निर्माण भएसँगै जडीबुटी नाकामा यातायातका साधनको चाप कम हुने उल्लेख गर्दै सांसद बस्नेतले सडक जामको दीर्घकालीन उपाय भनेको कोटेश्वर–जडीबुटी सुरुङ मार्ग नै भएको कुरामाथि जोड दिए । उनले कोटेश्वर सडकको दाँयाबाँया सर्भिस ट्रयाक निर्माणका लागि डिपिआर तयार भइसके पनि नागरिक उड्डयन प्राधिकरणका कारण निर्माण कार्य अगाडि बढ्न नसकेको बताए ।
अहिले कोटेश्वरसम्मको जाम न्यूनीकरणका लागि विकल्पको रूपमा बालकुमारीदेखि जडीबुटीको पुलसम्म सडकको करिडोर निर्माण गर्न १७ करोड र भक्तपुरबाट मनोहरा पुलदेखि मनोहरा दोभान र हनुमन्ते दोभानसम्म तीन करोड विनियोजन भएकोमा काम सम्पन्न हुने चरणमा छ । मेलम्ची खानेपानीको ढल बिछ््याउने कार्यले योजना सम्पन्न गर्न केही ढिलाइ हुन गएको थियो ।
सांसद बस्नेतले भक्तपुरमा सुरक्षित राजमार्ग निर्माण गर्न विशेष अभियान चलाइएको बताउँदै उज्यालो राजमार्ग निर्माणका लागि राधेराधे चोकसम्म सडकमा सौर्य बत्ती जडान गरिएको र बाँकी ठाउँमा पनि तुरुन्तै जडान गरिने बताए । त्यस्तै बागमती सभ्यताले हनुमन्ते करिडोर सडक निर्माणका लागि ९१ करोड विनियोजन भई निर्माण कार्य पनि अगाडि बढिसकेको उनको भनाइ थियो ।
अहिले वैकल्पिक रूपमा पेप्सीकोलादेखि जडीबुडीसम्मको बाटो र जडीबुटीदेखि बालकुमारीसम्मको बाटोबाट सवारीसाधन सञ्चालन गर्दा ७० प्रतिशत कोटेश्वरको सडक चाप घट्ने विश्वास गरिन्छ ।
विगत केही समयदेखि सुरक्षित भक्तपुर बनाउने अभियानबमोजिम दिउँसोको समयमा ट्रिपर सञ्चालनमा रोक लगाएपश्चात् दुर्घटना कम भएको छ ।