विदेश

अमेरिकी सुँगुर र गाईको मासुमा करबृद्धि

अमेरिकी सुँगुर र गाईको मासुमा करबृद्धि

सांघाई । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापारिक युद्धको एउटा प्रमुख उद्देश्य नै बेइजिङमाथि ‘अमेरिकी सामान खरिद गर्न’ दबाब दिनु थियो, तर अमेरिकाबाट वर्षैपिच्छे करोडौं मूल्यको मासु आयात गर्ने चीनको रोजाइमा आजभोलि अरू नै देश पर्न थालेका छन् ।

पछिल्लो समय अमेरिकी करबृद्धिको प्रतिशोध स्वरूप चीनले अमेरिकाबाट आयात हुने सुँगुर र गाईको मासुमा करबृद्धि गरेको छ । त्यही कारण चिनियाँ बजारमा अमेरिकी मासुको मूल्य आकासिएको छ । चिनियाँ आयातकर्ताहरूले स्वाभाविक रूपमा अरू नै स्रोत खोजी गर्न थालेका छन्, र यो प्रवृत्ति अन्य अमेरिकी बस्तुमा पनि देखा पर्न थालेको छ । 

‘चिनियाँ करबृद्धिका कारण अमेरिकी बस्तु ज्यादै महङ्गो भएको छ, र अहिले हामी अरू नै मुलुकबाट आयात गर्न थालेका छौँ’, मासु कम्पनी पिएमआई फुड्सका व्यवस्थापक झाङ लिहुईले भने । ‘हामीले आजभोलि अस्ट्रेलिया, दक्षिण अमेरिका र क्यानडाबाट मासु आयात गर्न थालेका छौं ।’ 

पिएमआई फुड्सले बेइजिङले करबृद्धि गर्न थालेसँगै अमेरिकाबाट सुँगुरको मासु आयात घटाएपछि अमेरिकी मासुको मूल्य एकाएक बढेको छ । 

करबृद्धिको लडाइँका कारण व्यापारको विश्वव्यापी परिदृश्यमै परिवर्तन ल्याउने सम्भावना देखिएको छ, र यसबाट अरू मुलुकलाई फाइदा पुग्नेछ, झाङले बताए । ‘चिनियाँ बजार निश्चित रूपमै प्रतिस्थापन हुनेछ ।’ 

व्यापारिक युद्धको परिणाम फैलिँदै गएमा त्यसको असर प्रक्षेपण गर्न मुस्किल हुनेछ । तर विश्लेषकहरूले अमेरिकी निर्यातकहरूले चिनियाँ व्यवसाय गुमाउने खतरा औंल्याएका छन् । 

अमेरिकाले जुन महिनामा मात्र करिब १४ करोड अमेरिकी डलरबराबरको मासुजन्य बस्तु आयात गरेको थियो जुन अमेरिकाबाट हुने कुल मासुजन्य बस्तुको निर्यातको करिब १० प्रतिशत हो । 

‘चीनले मुख्य रूपमा मासु, सोयाबिन, गहुँ र पेट्रोकेमिकल जस्ता बस्तुको आयातमा करबृद्धि गरेको छ किनभने चीनको विश्वासमा यी बस्तु विश्व बजारबाट सहजै आपूर्ति गर्न सकिन्छ’, क्यापिटल इमोनोमिक्समा कार्यरत जुलियन इभान्स–प्रिटचार्डले भने । (एजेन्सी) 

चीन अमेरिका

विशेष