पतिलाइ पिराेल्ने पत्नीले अब सम्बन्धबिच्छेद गर्दा पतिकाे सम्पत्ति नपाउने
काठमाडौँ । भदौ १ गतेबाट लागू हुन लागेको नयाँ मुलुकीसंहिता अनुसार विवाह नभई शारीरिक सम्पर्कबाट बच्चा जन्मिएमा विहे भएको मान्यता दिने व्यवस्था गरिएको छ ।
ऐनको भाग ३ मा रहेको पारिवारिक कानुन अन्र्तगत परिच्छेद १ मा विवाह सम्बन्धी व्यवस्था राखिएको छ । सो व्यवस्थाको दफा ७४ शारीरिक सम्पर्कबाट शिशु जन्मेमा विवाह भएको मानिने व्यवस्था छ ।
दफा ६९ को उपदफा १ मा प्रत्येक व्यक्तिलाई कानुनको अधिनमा रही विवाह गर्ने, परिवार कायम गर्ने स्वतन्त्रता दिइएको छ । यस्तै उपदफा २ मा विवाह जुनसुकै किसिमबाट भएको भएतापनि त्यस्तो विवाह सार्वजनिक गर्नु वा गराउनुपर्ने उल्लेख छ ।
तर उपदफामा जुनसुकै कुरा लेखिएको भएपनि कुनै पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्माएको प्रमाणित भएमा त्यस्तो पुरुष र महिलाबीच स्वतः विवाह भएको मानिने व्यवस्था गरिएको छ ।
तर, जबरजस्ती करणीको कारणले महिलाले गर्भधारण गरी शिशु जन्मिएमा, विवाह गर्न हुने नाता सम्बन्धबाहेक हाडनाता करणीमा सजाय हुने नाताका पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्मिएमा त्यसलाई विवाह नभएको मानिने व्यवस्था छ ।
यी हुन् विवाह गर्न र गराउन नहुने अवस्था :
नयाँ मुलुकी संहितामा विवाह सम्बन्धी व्यवस्थाको दफा ७१ मा विवाह गर्न र गराउन नहुने व्यवस्था रहेको छ । दफा ७० मा पुरुष र महिलाले एक अर्कालाई पति–पत्नीको रुपमा स्वीकार गर्न मञ्जुर गरेमा, कानुन बमोजिम पुरुष र महिना हाडनाता करणीमा सजाय हुने नाताको नभएमा, पुरुष र महिला दुबैको बैवाहिक सम्बन्ध कायम भएको अवस्था नरहेमा बीस बर्ष उमेर पूरा भएमा विवाह हुने अवस्था तोकिएको छ भने दफा ७१ मा विवाह गर्न वा गराउन नहुने अवस्था तोकिएको छ ।
निम्न अवस्थामा कुनै महिला वा पुरुषलाई झुक्याई विवाह गर्न वा गराउन नहुने व्यवस्था छ :
१) शरीरमा मावन रोग प्रतिरोधक क्षमता नष्ट गर्ने जिवाणु एच.आई.भी. वा हेपाटाइटिस बी रहेको वा यस्तै प्रकृतिका निको नहुने कडा रोग लागेको ।
२) यौनाङ्ग नभएको, नपुङ्सक भएको वा सन्तान उत्पादन गर्ने क्षमता नभएको प्रमाणित भैसकेको ।
३) पूर्ण रुपमा बोल्न वा सुन्न नसक्ने, पूर्ण रुपमा दृष्टिबिहिन वा कुष्ट रोगी भएको
४) होस ठेगानमा नरहेको
५) विवाह भइसकेको
६) गर्भवती भएको
७) नैतिक पतन देखिने फौजदारी अभियोगमा कसूरदार ठहरी अदालतबाट सजाय पाएको ।
यस्तै दफा ९५ मा कानुन बमोजिम पति पत्नि मानो छुट्टिई भिन्न बसेको अवस्थामा बाहेक पतिले पत्निको मञ्जुरी नलिई लगातार ३ बर्ष वा सो भन्दा बढी समयदेखि अलग बसेमा, पतिले पत्निलाई खान लगाउन नदिएमा वा घरबाट निकालिदिएमा, पतिले कुनै अंगभंग हुने वा अरु शारीरिक वा मानसिक कष्ट हुने किसिमको जाल प्रपञ्च गरेमा, पतिले अर्को विवाह गरेमा, पतिले अन्य महिलासँग यौन सम्बन्ध राखेको ठहर भएमा वा पतिले पत्निलाई जबरजस्ती करणी गरेको ठहरेमा सम्बन्ध बिच्छेद हुने व्यवस्था गरेको छ । तर दफा ९७ ले भने सम्बन्ध विच्छेदका लागि निवेदन परेमा भरसक अदालतले दुबै पक्षलाई सम्झाई बुझाई मेलमिलाप गराउनुपर्ने व्यवस्था पनि छ ।
सम्बन्ध बिच्छेद हुने भएपछि दफा ९९ ले अंशबण्डाको व्यवस्था गरेको छ । यो दफाको उपदफा ३ मा सगोलको सम्पत्ति पति पत्नी दुवैको नाममा वा पति पत्नीमध्ये कुनै एकको नाममा रहेछ भने सम्बन्ध विच्छेद हुनु अघि निजहरुबिच कानुन बमोजिम त्यस्तो सम्पत्तिको अंश वण्डा गर्नुपर्ने व्यवस्था गरिएको छ ।
पतिपिडित महिलालाई पतिको आफ्नो अंश नभए उसले पाउने अंशबाट परिपूर्ति गर्नुपर्ने व्यवस्था गरिएको छ भने पत्नीपिडित पति हो भने महिलालाई अंश दिन वा खर्च भराउन बाध्य नहुने व्यवस्था गरिएको छ । यस्तै दफा १०० मा एकमुष्ठ रकम वा खर्च भराई दिन सक्ने व्यवस्था गरिएको छ ।