विश्वको १ नम्बर सहर भियना
लन्डन । विश्वकै बस्न लायक सुन्दर सहरको सूचीमा अस्ट्रियाको राजधानी भियना एक नम्बरमा परेको छ ।
वार्षिक रूपमा प्रकाशित हँुदै आएको सर्वेक्षण प्रतिवेदनमा विश्वका १० वटा सहरलाई एक दुई तीन गरी अङ्कित गरिएको छ । प्रथम स्थानमा ९९.१ अङ्क प्राप्त गरी भियना प्रथम स्थानमा रहेको छ । अस्ट्रेलियाको मेलबोर्नले ९८.४ अङ्क प्राप्त गरी दोस्रो स्थानमा परेको छ । मेलबोर्न विगत सात वर्षदेखि लगातार पहिलो स्थानमा रहँदै आएको थियो । तेस्रो स्थानमा जापानको ओसाका सहर परेको छ ।
क्यानाडाको क्यालगरी चौथो स्थानमा, अस्ट्रेलियाको सिडनी पाँचौ स्थानमा, क्यानाडाकै भ्यानकोभर र टोरन्टो क्रमशः छैटौं र सातौं स्थानमा, जापानको टोकियो आठौं, डेनमार्कको कोपनहेगन नवौं र अस्टे«लियाको एडिलेड दसौं स्थानमा परेका छन् ।
उत्कृष्ट १० स्थानमा परेका यी सहरलाई हेर्दा अस्ट्रेलिया र क्यानडामा तीन तीन सहरहरू परेका छन् ।
भियना अस्ट्रेलियाको मेलबोर्न सहरलाई पछि पार्दै आगाडि पहिलो नम्बरमा आएको छ । भियनामा अपराधमा कमी आएको, यातायातको सुविधा, शिक्षा र स्वास्थ्य सुविधा जस्ता कुरालगायत राजनीतिक स्थायित्वको कारण पनि बस्न लायक सहरको पहिलो स्थानमा परेको बताइएको छ ।
बस्न अयोग्य सहरको सूचीमा पहिलो नम्बरमा सिरियाको राजधानी दमास्कस रहेको छ । यस्तै बङ्गलादेशको राजधानी ढाका, नाइजेरियाको लागोस, पाकिस्तानको कराँची र पपुवा न्यु गिनीको पोर्ट मोरेस्बी पनि बस्न अयोग्यको सूचीमा रहेका छन् । पाँच वर्षयता अबिद्जान, हनोइ, बेलग्रेड र तेहरान सहरले भने विकासको फड्को मारेका छन् । –एजेन्सी