News कार्टुन

अब विदेशी पर्यटकको उद्धार नेपाल प्रहरीले गर्ने

अब विदेशी पर्यटकको उद्धार नेपाल प्रहरीले गर्ने

काठमाडौं  ।  ‘फेक रेस्क्यु’ बाट विदेशी पर्यटकलाई ठग्ने गिरोह फस्टाउन थालेपछि सरकारले नेपाल प्रहरीबाट ती पयर्टकको उद्धार गर्ने नीतिगत तयारी थालेको छ।

 

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय नेतृत्वको कार्यदलले १६ दिन अघि मन्त्रालयसमक्ष पेश गरेको अध्ययन तथा सुझाव प्रतिवेदन अनुसार विदेशी पर्यटकको उद्धार नेपाल प्रहरीबाट गराउने तयारीमा सरकार लागेको हो ।

 

मन्त्रालयका सहसचिव उपाध्यायले छ्टिै नै मन्त्रिपरिषद्को बैठकबाट निर्णय गराई उक्त योजना कार्यान्व्यन गर्ने बताए। उपाध्ययका अनुसार नेपाल प्रहरीले नै पर्यटकको उद्धारका लागि हेलिकोप्टर तथा अस्पतालको व्यवस्था मिलाउने अनि पछि सरकारबाट शोधभर्ना लिने व्यवस्था मिलाउन लागिएको हो ।

 

कार्यदलले मुख्य पर्यटकीय मौसम हरेक वर्ष सेप्टेम्बरदेखि नोभेम्बरसम्म र मार्चदेखि मेसम्मका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘पर्यटक उद्धार समन्वय कक्ष’ स्थापना गर्ने, पर्यटक गाइडहरुको योग्यता तोक्ने, परिचयपत्रको व्यवस्था गर्ने, ३ हजार मिटर भन्दा माथिको उचाईमा पदयात्रा गर्दा गाइड अनिवार्य लैजानु पर्ने व्यवस्था मिलाउने लगायत सुझाव दिएको छ।

 

दीर्घकालिन सुधारका लागि पनि दर्जन बढी सुझाव दिएको कार्यदलले पर्यटकलाई नियोजितरुपमा मिसावट खाना दिएर बिरामी गराई ‘फेक रेस्क्यु’ गरेर करोडौं रकम ठग्नेलाई कारवाहीको सिफारिस समेत गरेको छ।

 

जसमा  बल्खुको बयोधा अस्पताल, धापासीको ग्रान्डी इन्टरनेसनल हस्पिटल, थापाथलीको नर्भिक इन्टरनेसनल हस्पिटल, सोह्रखुट्टेको इरा हेल्थ सेन्टर, बत्तीसपुतलीको सकोन हस्पिटल प्रालि र कपुरधाराको सिवेक अस्पताल प्रालिले चिकित्सकीय मर्यादाविपरीत फरक–फरक शीर्षकमा बिलबीजक खडा गरेको देखिएको छ। यी अस्पतालको कारोबारमाथि थप छानबिन र अनुगमन गर्न स्वास्थ्य मन्त्रालयलाई भनिएको छ ।

 

‘फेक रेस्क्यु’ को उजुरी र सूचनाको आधारमा कार्यदलले ३ वटा हेलिकप्टर कम्पनी, १० वटा अस्पताल, ८ वटा ट्राभल, ट्रेकिक, तथा रेस्क्यु कम्पनी, ५ वटा वैदेशिक मुद्राको कारोवार गर्ने कम्पनीलाई कारवाहीको सिफारिस गरिएको हो।

विदेशी पर्यटक नेपाल प्रहरी

विशेष