News

काठमाडौँमा दमकल केन्द्र स्थापना

काठमाडौँमा दमकल केन्द्र स्थापना

काठमाडौं। काठमाडौं महानगरपालिकामा अब अग्नि नियन्त्रण तथा विपद् व्यवस्थापन तालिम केन्द्र स्थापना हुने भएको छ । 

 

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले गत सोमबार वडा नं ६ रामहिटीमा अग्नि नियन्त्रण तथा विपद् व्यवस्थापन तालिम केन्द्रको शिलान्यास गरे ।

 

इटलीको बोल्जानो वोल्जेन प्रदेशको रु पाँच करोड तथा महानगरको आन्तरिक स्रोतबाट गरी रु आठ करोड ६१ लाख १६ हजारको लागतमा उक्त केन्द्र निर्माण गर्न लागिएको हो । 

 

तीन दशमलव पाँच रोपनीमा उक्त भवन निर्माण गरिनेछ । सो भवनमा एक लाख ५० हजार लिटर क्षमताको पानी ट्यांकी रहनेछ । भवनमा अग्नि नियन्त्रक बस्न मिल्ने ठाउँ, तीन दमकल राख्ने ठाउँ, तालिमका लागि दुई सुविधासम्पन्न कार्यक्रमस्थल तथा करीब एक सय जना प्रशिक्षार्थी अट्ने हलको व्यवस्था गरिने कामपाले जनाएको छ । 

 

कामपाले चालू आवको नीति तथा कार्यक्रमअन्तर्गत महानगरका पाँच क्षेत्रमा दमकललगायत विपद् व्यवस्थापनका लागि चाहिने उपकरणको व्यवस्था मिलाउने कुरा उल्लेख गरेको छ । कामपाका उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले समुदाय बलियो भए सेवा सञ्चालन गर्न सजिलो हुने बताए ।
 

काठमाडौँ महानगरपालिका दमकल केन्द्र

विशेष