News अपराध सुरक्षा

सशस्त्रका हवलदार नै गाडी चाेर

सशस्त्रका हवलदार नै गाडी चाेर

परासी । केही दिन अगाडि सुनवलबाट हराएको स्कारपियो गाडी चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका एक वरिष्ठ हवलदारसहित तीनजनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

एक साताअघि सुनवल बजारबाट बा १५ च २१०४ नम्बरको स्कारपियो गाडी चोरी भएको थियो । पक्राउ पर्नेमा सशस्त्र प्रहरी बल नेपाल गण पश्चिम नवलपरासी नम्बर २६ गण बेलासपुरमा कार्यरत वरिष्ठ हवल्दार ठाकुरप्रसाद चौधरी, बुटवल उपमहानगरपालिका–१३ बेलवासकी जानकी बराल र रुपन्देही सैनामैना नगरपालिका–३ का दिलिप बोहोरा छन् ।

 

पश्चिम नवलपरासी बर्दघाट नगरपालिका–५ पालडाँडा घर भएका हवल्दार चौधरीले चोरी भएको गाडी घरमा लुकाएर राखेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।

 

सवारी खोजी गर्ने क्रममा प्रहरी बुटवल, नवलपरासी र भारतीय नाकामा मोटर ग्यारेजमा ग्राहक बनेर अनुसन्धान गरेको थियो ।

 

प्रहरी जवान ग्राहक बनेर ग्यारेज जाँदा सैनामैनाका दिलिप बोहाराले आफूसँग स्कारपियो गाडी भएको बताएका थिए । सवारी देखाउनका लागि बोहराले प्रहरीलाई लिएर बर्दघाटस्थित चौधरीको घरमा पुगेका थिए ।

 

सातादिनसम्म पनि गाडी विक्री नभएपछि चौधरीले नेपाली नम्बर झिकेर भारतीय नक्कली बिल बुक बनाएका थिए ।

 

बीआर २२ एन ०९८८ नम्बरको नक्कली स्कोरपियोको भारतीय बिल बुक बनाएर भारतमा विक्री गर्ने तयारी थियो । चोरीमा संलग्न तीनै जनालाई कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

नवलपरासी गाडी चोरी

विशेष