सुदूरपश्चिममा 'ओल्के' पर्व मनाइँदै
धनगढी । काँक्रा, भाण्टा, मुला,दही, पिँडालुका पात र हरियो सागपात आफन्तजनलाई बाँडेर प्रदेश-७ मा ओल्के पर्व उल्लासपूर्वक मनाइँदै।
साउन मसान्तसँगै प्रदेश- ७ मा 'ओल्के' पर्वको रमझम सुरु हुने गर्दछ। साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुशियालीमा प्रदेश- ७ का पहाडि जिल्लामा ओल्के पर्व मनाइन्छ।
साउनको अन्तिम दिन र भदौको पहिलो दिनमा विशेष महत्वका साथ ओल्के पर्व मनाइने परम्परा रहि आएको छ। ओल्को भन्नाले 'उपहार' वा 'कोसेली' भन्ने बुझिन्छ।
आफूभन्दा ठूलाबडा मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो-मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रहिआएको छ।
यो पर्व कुनै धार्मिक वा पौराणिक उत्प्रेरणाबाट प्रभावित नभई यस भेगका बासिन्दाको मौलिक पर्वका रुपमा पनि रहिआएको छ। गाउँका मुखिया तथा मान्यजनको घरमा हरियो सागपात दिएर वर्षायाममा दैवी प्रकोपबाट बाँचिएको खुशीयालीमा सद्भाव बाँड्ने गरिन्छ।