नयाँ प्रविधि भित्रिएपछि पुराना प्रविधि लोप हुँदै
उदयपुर । गाउँगाउँमा पनि विद्युत् पुगेको छ । विद्युत पुगेर गाउँगाउँमा सहज भएको छ । विद्युतले प्रयोग हुाने नयाँ प्रविधि भित्रिएको छ जसले गर्दा पुराना सबै प्रविधि लोप हुँदैगएको अवस्था छ ।
धान कुट्ने तथा कोदो, मकै र तोरी पिस्ने नयाँ प्रविधि मिल भित्रिएपछि अहिले उदयपुर जिल्लाको पहाडी क्षेत्रबाट पुराना प्रविधि पानीघट्ट, ढिकी तथा जाँतो लोप हुँदै गएको छ ।
सात वर्ष अघिसम्म पनि जिल्लाको मध्य पहाडी क्षेत्रको जाँते, लाफागाउँ, बलाम्ता, खाँबु, साउने तथा इनामे भुटारजस्ता गाउँमा लोकप्रिय रहेको जाँतो, ढिकी र पानीघट्ट अहिले विद्युत् विस्तार भएसँगै पूर्ण विस्थापित भएको सम्बन्धित क्षेत्रका स्थानीय बासिन्दा बताउँछन् ।
इनामेमा आजभन्दा सात वर्षअघिसम्म स्थानीय यारीखोलामा सञ्चालन हुँदै आएको पानीघट्ट अहिले पूर्णरुपमा बन्द हुन पुगेपछि पानीघट्ट लथालिङ अवस्थामा रहेको ताप्ली गाउँपालिका–४ का ७० वर्षीय कृष्णमान तामाङले बताए ।
तामाङले भने , “पहिलापहिला गाउँमा बिजुली नआउँदा र मिल स्थापना नहुँदा यारीखोलाको पानी घट्टमा वल्लोपल्लो गाउँका गाउँले धान कुटाउन कोदो मकै पिसाउनेको ओइरो नै लाग्थ्यो, अब घट्ट भत्किदै गइसक्यो, यो क्षेत्र सुनसान बन्न पुगेको छ, सबै आफ्नै टोलटोलमा नयाँ प्रविधिको मिल सञ्चालन गरेर धान, कोदो र मकै पिस्छन् ।”
उदयपुर लिमचुङबुङ बराहका ६८ वर्षीय होमप्रसाद बराल हिजोआज गाउँमा ढिकी र जाँतो विस्थापित हुन पुगेकामा निकै चिन्तित बन्न पुगेका छन् । बरालले भने, “विगतमा गाउँघरमा ढिकी, जाँतो चल्दा र ढिकी, जातोको आवाज आउँदा पनि गाउँघर रमाइलो हुन्थ्यो, तर अहिले गाउँमा ढिकी घर भत्किसके, जाँतो उखेलिएर फालिसके, अब मिलको जमाना आयो, हिजोका ती प्रविधि बन्द हुँदा गाउँ नै सुनसान हुन पुगेको छ ।”
दश वर्षअघिसम्म जिल्लाको पहाडी क्षेत्रमा घरघर र गाउँगाउँमा सञ्चालन हुने ढिकी, पानीघट्ट र जाँतो अब विस्तारै इतिहास बन्न थालेको यस क्षेत्रका पढे लेखेका विज्ञहरु बताउँछन् । अन्नबाली ढिकी, जाँतो र घट्टमा कुटानी पिसानी गर्दा लामो समयसम्म टिकाउ हुने, स्वादिलो हुने र पौष्टिकयुक्त हुने भएकाले पनि यी परम्परागत प्रविधिको संरक्षण गर्न आवश्यक देखिन्छ ।