काठमाडौंमा दसैँअघि मेलम्चीको पानी नआउने
काठमाडौं । सुरुङ खन्न बाँकी भएकाले दसैँअघि मेलम्चीको पानी काठमाडौँ नआउने निश्चित प्रायः भएको छ ।
मेलम्चीको पानी ल्याउन निर्माण भइरहेको सुरुङको काम सम्पन्न गर्न अझै केही समय लाग्ने भएको छ । इटालीको निर्माण कम्पनी को–ओपरेटिभ मुराटोरी सेमेन्टिस्टी दि रभेन्नासँग थप भएको समय असोजसम्म काम नसकिने भएको छ ।
चैतमा सुरुङ निर्माण सम्पन्न भएपछि तीन महिना काम रोकिएका कारण सुरुङको अन्तिम सजावट (फिनिसिङ) को काममा ढिलाइ भएको मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले बताए ।
अन्तिम सजावटको काम सकेपछि पनि पानी ल्याउन मुहानमा ‘हेड बक्र्स’ काम सक्नुपर्ने हुन्छ । वर्षात्मा ‘हेड बक्र्स’ को काम हुन नसक्ने भएकाले पनि काममा ढिलाइ हुने कार्यकारी निर्देशक कँडेलले उल्लेख गरे ।
बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको २७ किलोमिटर सुरुङमध्ये हालसम्म ९ दशमलब ४ किलोमिटर सुरुङमा मात्र अन्तिम सजावट सम्पन्न भएको छ । बाँकी १८ किलोमिटर सुरुङको काम सक्न तीन महिना लाग्छ । विसं २०६६ साउनबाट सुरु भएको सुरुङ निर्माण २०७४ चैतमा सम्पन्न भएको थियो । चीनको चाइना रेल्बे कम्पनीले ठेक्का छोडी गएपछि डेढ वर्ष नयाँ ठेक्का प्रक्रियाका कारण काम रोकिएको थियो ।
सुरुङ निर्माण सम्पन्न भएसँगै अन्तिम सजावटको काम सुरु भएको थियो । अन्तिम सजावटको काम सकेपछि असोज २६ गते सुरुङबाट मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा खसाल्ने सरकारको लक्ष्य फेरि संशोधन हुने भएको छ ।
आयोजनामा हालसम्म २५ अर्ब २० करोड खर्च भइसकेको छ । आयोजना सम्पन्न गर्न ३१ अर्ब लाग्नेछ ।