कालीमाटीका तरकारी व्यापारीले सरकारी अनुगमन टोलीलाई थुने
काठमाडौं । उत्पादनस्थल भन्दा पाँच गुणा महंगो तरकारी बेच्ने व्यापारीहरुको धन्दा अनुगमन गर्न गएको सरकारी टोलीलाई कालीमाटीस्थित थोक तरकारी बजारका व्यापारीले थुनेर राखेका छन् ।
अस्वभाविक रुपमा तरकारीको मूल्य अकाशिएपछि आपूर्ति मन्त्रालयले बजार अनुमगन गर्ने क्रममा कर्मचारीहरु व्यापारीको घेरामा परेका छन् । मकवानपुर, धादिङ चितवन लगायत जिल्लाबाट आयात हुने तरकारीमा पाँच गुणा बढीसम्म मूल्य कायम भएको पाइएपछि सरकारी टोली कालीमाटीस्थित तरकारी बजारमा प्रवेश गरेका हुन् । व्यापारीहरुले बिना जानकारी अनुमगनमा आएको भन्दै सरकारी टोलीलाई थुनेर राखेको हो ।
बिहान ३ बजे तरकारी बजार पुगेको सरकारी टोलीले बिल बिनाको ना ४ च ६६३४ नम्बरको तरकारी बोकेको ट्रक र त्यसका चालक सुदीप दराई बा ६ च ९६४ नम्बरको ट्रक नियन्त्रणमा लिएको थियो । व्यापारीहरुले ती ट्रक तरकारी बजारबाहिर लैजान नदिने भन्दै प्रवेशद्वार बन्द गरेका छन् ।
९६४ नम्बरका ट्रकका चालक कर्मा तामाङ फरार भएपछि सरकारी टोलीले ती ट्रक नियन्त्रणमा लिएको हो । व्यापारीहरु ट्रक बाहिर लैजान नदिने भनेर धर्ना बसेका छन् । अप्रिय घटना हुन नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।