वागमती सफा पार्न दह निर्माण
काठमाडौं । वागमती नदीमा सफा पानी बगाउने उद्देश्यले दह निर्माण गर्न थालिएको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडले वागमतीको ९० प्रतिशत पानी खानेपानीका लागि उपयोग गरेकाले हिउँदका बेला नदीमा ढलमात्र बग्ने गरेको छ । उपत्यकाको सभ्यताको स्रोतको रूपमा रहेको उक्त नदीमा बग्ने ढल रोकी स्वच्छ पानी बगाउने उद्देश्यले दह निर्माण गर्न थालिएको हो ।
उपत्यकामा धेरै घर बनेकाले जमीनबाट वागमतीमा पानी पुनःभरण हुँदैन । ‘जापान वाटर एजेन्सी’ लगायत संस्थाले वागमतीको अध्ययन गरी धापमा दह निर्माण गर्नसके वर्षात्मा साढे आठ लाख घनमिटर पानी जम्मा गर्न सकिने प्रतिवेदन दिइएको अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिका सिँचाइ एकाइ प्रमुख आशिषभद्र खनालले बताए ।
गोकर्णेश्वर नगरपालिकाको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको धापमा वर्षाको पानी जमाउनका लागि रूख काट्ने अनुमति लिन समय लागेकाले ०७४ वैशाखदेखि मात्र काम सुरु भएको थियो ।
दह निर्माणपछि हिउँदमा ४० लिटर प्रतिसेकेन्ड पानी वागमती नदीमा बगाउन सकिने उनको भनाइ छ । प्रदूषित बन्दै गएको उक्त नदीमा महाशिवरात्रीलगायत अन्य महत्वपूर्ण चाडपर्वमा पानीको बहाव बढाएर सफा बनाउन तीन दिनसम्म ७ सय लिटरसम्म पानी बगाउन सकिने जनाइएको छ ।
एसियाली विकास बैंकको ५१ करोड ऋण सहयोगमा २४ मिटर उचाइको दह निर्माण गरिने छ । दहको ठेक्का गोञ्जाओ ÷लामा ÷रमण जेभी निर्माण कम्पनीले लिएको छ । दह निर्माणस्थलमा जाने प्रवेशमार्ग बनाइसकिएको छ भने अहिले गहिराइमा ढुंगा र बालुवा भर्ने काम भइरहेको छ ।
वागमतीको सहायक नागमती नदीमा पनि दह निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ । वागमतीमा ९४ मिटर उचाइको दह बनाउन विस्तृत आयोजना प्रतिवेदन तयार भई वातावरणीय प्रभाव मूल्यांकनका लागि वन मन्त्रालयमा निवेदन पेस गरिसकिएको छ । आउँदो वैशाखसम्ममा दह निर्माण गरिने जनाइएको छ ।