News व्यापार बैंकिङ

मालपोतबाटै बैंकिङ सेवा सुरु गरिने

मालपोतबाटै बैंकिङ सेवा सुरु गरिने

काठमाडौं । सरकारले मालपोत कार्यालयबाट बैंकिङ कारोबार सेवा सुरु गर्न लागेको छ । 


राजधानीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मुलुकका १ सय ३१ मालपोत कार्यालयबाट बैंकिङ कारोबार सेवा सुरु गर्न लागेको जानकारी दिइन् । 

 

उनले कार्यालय समयमा कारोबार गर्ने गरी काउन्टर स्थापनाका लागि विभिन्न बैङ्कसँग समन्वय भइरहेको बताइन् । 

 

मालपोत कार्यालयमा सिसिटिभी जडान गरी विभाग र मन्त्रालयबाट अनुगमन गर्न सकिने व्यवस्था मिलाइने छ, मन्त्री अर्यालले भनिन्, ‘सहकारी क्षेत्रलाई उत्पादनसँग जोडेर सामाजिक रुपान्तरण हासिल गर्ने लक्ष्य सरकारको छ ।’ 

 

मन्त्रालयका सचिव गोपीनाथ मैनालीले विभिन्न १० वटा सहकारी संस्थालाई सङ्कटग्रस्त घोषणा गरिएको जानकारी दिँदै उनले सहकारी पीडितलाई न्यायोचित रुपमा क्षतिपूर्ति उपलब्ध गराउने नीति लिएको छ बताए ।  

 

मालपोत तथा भूमिसुधार कार्यालयमा पेस हुने लिखत तयारबापत सेवाग्राहीले लेखापढी व्यवसायीलाई के कति शुल्क बुझाउन उचित हुन्छ त्यसबारे विज्ञहरूले दिएको सुझावका आधारमा निर्धारण गर्ने तथा कार्यालयमा अनधिकृत व्यक्तिको प्रवेश रोक्नका लागि स्थानीय प्रहरी प्रशासनसँग मन्त्रालयले समन्वय गर्ने पनि उनले बताए । 

 

कार्यालय परिसरभित्र सरकारी जग्गामा बनेका संरचनामा लेखापढी व्यवसायी वा अन्य अनधिकृत व्यक्ति वा संस्थाले सर्तविपरीत उपयोग गरेको वा व्यावसायिक प्रयोजनमा लगाएको भए तुरुन्त हटाउन लगाइने जनाएको छ । 

 

मालपोत कार्यालयमा लेखापढी गर्ने व्यक्तिको नाम, ठेगाना, इजाजतपत्र नम्बर, प्यान नम्बर उल्लेख गरी सम्बन्धित कार्यालयमा दर्ता गराउनुपर्ने तथा कानुनी व्यवसायीले अनिवार्य रूपमा परिचयपत्र लगाउनुपर्नेलगायत व्यवस्था मन्त्रालयले गरेको पनि सो अवसरमा जानकारी गराइयो । 

मालपोत

विशेष