News मुख्य समाचार

प्राकृतिक प्रकोपबाट दुई अर्बभन्दा बढीको क्षति

प्राकृतिक प्रकोपबाट दुई अर्बभन्दा बढीको क्षति

काठमाडौं । मुलुकमा विपद्का घटनाबाट दुई अर्बभन्दा बढीको भौतिक क्षति भएको छ । 


गृह मन्त्रालयका अनुसार ०७५ वैशाख १ देखि ०७५ भदौ ४ गतेसम्म मात्र प्राकृतिक प्रकोपका घटनाबाट देशले दुई अर्ब आठ करोड ५७ लाख ४० हजार ५ सय ८ रुपैयाँबराबरको क्षति ब्यहोर्नुपरेको छ । आगालागी, हावाहुरी, बाढीपहिरो, चट्याङ, असिनापानीलगायत घटनाबाट उक्त क्षति भएको हो । जसमध्ये आगलागीका कारण सबैभन्दा धेरै क्षति भएको छ । 


मन्त्रालयको तथ्यांक अनुसार आगलागीका कारण एक अर्ब ८९ करोड ३९ लाख ७७ हजार ८ सय ५०, बाढीले तीन करोड १४ लाख ६३ हजार ९ सय, पहिरोले सात करोड ९८ लाख ४१ हजार ५ सयको क्षति भएको छ । 


वर्षात्ले तीन करोड ८६ लाख ८६ हजार ३ सय ६०, हावाहुरीले तीन करोड ५८ लाख १६ हजार ९ सय ९८, चट्याङले ४४ लाख ७७ हजार, असिनापानीले चार लाख ५७ हजार र अन्य कारणबाट रु १० लाख १९ हजार ९ सय मूल्यबराबरको क्षति भएको छ । 


विपद्का कारण चार हजार ६ सय ९८ परिवार प्रभावित भएका छन् भने एक हजार ६ सय ५७ जनावर मरेका छन् । यो वर्षमात्र प्राकृतिक प्रकोपका घटनाबाट ५ सय ६१ जनाको ज्यान गइसकेको छ । जसमध्ये पुरुष ३ सय ७८ र महिला १ सय ८३ छन् । यस्तै ९५ हराइरहेका छन् भने दुई हजार ३ सय ३१ घाइते भएका छन् ।

गृह मन्त्रालय राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनाल प्राकृतिक प्रकोपबाट हुने घटनाको उद्धार र राहतका लागि मन्त्रालय तयारी अवस्थामा रहेको बताए । 

प्राकृतिक प्रकोप

विशेष