बकरइदको उपलक्ष्यमा सद्भाव साटासाट
काठमाडौं । काठमाडौं उपत्यकामा बसोवास गर्दै आएका इस्लाम धर्मावलम्बीहरूले दोस्रो ठूलो पर्व इद—उल—अजहा (बकरइद) का अवसरमा घण्टाघरस्थित नेपाली जामे मस्जिदमा बुधबार भेला भई सद्भाव साटासाट गरेका छन् ।
प्रत्येक वर्ष अरेवियन पात्रोको १२ औँ महिनाको १० गते पर्ने उक्त पर्वमा आफू भन्दा ज्येष्ठ मानिससँग आशीर्वाद लिने तथा मीठो खानेकुरा खाएर खुसियाली मनाइन्छ । अल्लाह (ईश्वर) ले आफ्नो भक्तजन इब्राइमलाई परीक्षा लिने क्रममा प्यारो वस्तुको बलि मागेकोमा इब्राइमले छोराको बलि दिन खोजेपछि त्यहाँ दैवीशक्तिले चौपाया उत्पन्न भएको विश्वास इस्लाम धर्मावलम्बीहरू गर्दछन् ।
खसी, बोकालगायत चौपायाको बलि गरी गरिब, इष्टमित्र र आफूलाई तीन भाग लगाइन्छ । समग्र आम्दानीको साढे दुई प्रतिशत दान गर्ने परम्परा छ । जामे मस्जिद व्यवस्थापन समितिका अध्यक्ष अब्दुल समीमका अनुसार एक ईश्वरवादको दार्श्निक मान्यता राख्ने इस्लाम धर्मावलम्बीले पहिलो महत्वपूर्ण पर्व इदुलफित्र मनाउने गदर्छन् । त्यसपछिको ठूलो पर्व बकरइद मनाउने गर्दछन् ।
इस्लाम धर्मको आधार स्तम्भका रूपमा कल्मा, नमाज, रोजा, जकात र हजलाई लिने गरिन्छ । अध्यक्ष समीमका अनुसार नेपालमा मल्लकालीन समयदेखि नै बसोवास गर्दै आएका इस्लाम धर्मावलम्बीको जनसंख्या करिब ५ प्रतिशत रहेको छ ।