आङ सान सूकीलार्इ दिइएको 'फ्रिडम अफ एडिनबर्ग' अवार्ड खोसियो

एडिनबर्ग । म्यान्मारकी विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ सान सूकीलार्इ दिइएको 'फ्रिडम अफ एडिनबर्ग' अवार्ड खोसिएको छ। म्यान्मारका रोहिंग्याहरु प्रति गरिएको हिंसा विरुद्ध आवाज नउठाएका भन्दै उनलार्इ दिइएको अवार्ड खोसिएको गार्डियनले जनाएको छ।
नोबेल शान्ति पुरस्कार विजेता रहेकी सूकीलार्इ दिइएको सम्मान खोसिएको यो सातौं घटना हो। अक्सफोर्ड, ग्लासगो र न्यूक्यासलले समेत सूचीलार्इ दिइएको 'फ्रिडम अफ सिटी अवार्ड' खोसेको थियो। यस्तै अमेरिकाको होलोसकस्ट म्यूजियमले सन् २०१२ मा सूचीलार्इ प्रदान गरेको 'इली विइसेल अवार्ड' गत मार्चमा फिर्ता लिएको थियो।
सन् २००५ मा बर्मामा शान्ति र प्रजातन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका निभाएको भन्दै सूकिलार्इ 'फ्रिडम अफ एडिनबर्ग अवार्ड' प्रदान गरिएको थियो। सम्मान प्रदान गर्ने क्रममा एडिनबर्गका लर्ड प्रोभोस्टले सूची 'दमनको समाना गर्न सक्षम शान्तिको प्रतिक' भन्दै नेल्सन मन्डेलासँग तुलना गरेका थिए।
म्यान्मारकी विदेशमन्त्री एवम् राज्य सल्लाहकारका रुपमा सूकिले राखाइन प्रान्तमा रोहिंग्याहरु विरुद्ध सेनाले गरेको हिंसाका बारे बोल्न अस्विकार गर्दै आएकी छिन्।
मंगलवार मात्रै सूकीले बंगलादेशमा आश्रय लिइरहेका रोहिंग्या शरणार्थीलाई म्यान्मार फर्काउने बारेमा बंगलादेशले देखाउने तत्परतामा निर्भर हुने बताएकी थिइन्। एक वर्षअघि बहुसंख्यक बौद्धमार्गी रहेको म्यान्मारका सेनाको चरम दमनपछि म्यान्मारबाट सात लाखभन्दा बढी रोहिंग्या मुस्लिम समुदाय भागेर बंगलादेश प्रवेश गरेका थिए।