बहुमङ्गलद्वार चैत्य प्राणप्रतिष्ठा
काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ क्षेत्रस्थित बहुमङ्गलद्वार चैत्यको बिहीबार प्राणप्रतिष्ठा गरिएको छ ।
गोरखाभूकम्प तथा त्यसपछि परकम्पका कारण सो चैत्यमा ठूलो क्षति भई जोखिम बढ्दै गएपछि पुनःनिर्माण भएको थियो । पुरातत्व विभागले स्वयम्भू महाचैत्यदेखि करिब २० मिटरको दूरीमा रहेको प्राचीन महत्वको सो सम्पदा जीर्णोद्धार पुरानै स्वरूपमा गर्न स्वयम्भू संरक्षण तथा व्यवस्थापन महासमितिलाई अनुमति दिएपछि काम सुरु गरिएको थियो । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक तथा सांस्कृतिक सङ्गठनको ४६ लाखको सहयोगमा महासमितिले नौ लाख थप गरी पुनःनिर्माण गरेको हो ।
यहाँ आयोजित चैत्यको प्राणप्रतिष्ठा कार्यक्रममा युनेस्कोका देशीय प्रतिनिधि क्रिस्टियन म्यानहर्टले युनेस्कोको प्राचीन महत्वको सम्पदाको संरक्षण गर्ने नीति रहेको बताए ।
चैत्यको निर्माणशैली तथा वास्तुकला आकर्षण भएका कारण चीन सरकारले पनि युनेस्कोमार्फत पुनःनिर्माणमा आर्थिक सहयोग प्रदान गरेको जनाइएको छ । करिब १० मिटर अग्लो उक्त चैत्यमा पाँच खण्ड तथा विभिन्न देवीदेवताको साना ठूला गरी १ सय २० मूर्ति छन् । चैत्य नयाँ प्रविधिको प्रयोग गरी निर्माण पूरा गरिएको महासमितिका अध्यक्ष सर्वज्ञरत्न तुलाधरले जानकारी दिए ।
सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत यु होङले नेपालको सम्पदा संरक्षण तथा सांस्कृतिक विकासमा थप सहयोग गरिने प्रतिबद्धता व्यक्त गरिन् । विभागका महानिर्देशक भेषनारायण दाहालले धार्मिक महत्वका सम्पदा क्षेत्रको पुनःनिर्माण तथा मर्मतमा प्राविधिक र आर्थिक कारणले ढिलाइ भएको स्वीकारे ।
उक्त महाचैत्य तथा त्यस आसपास क्षेत्रबाट काठमाडौं उपत्यकाको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ । प्राचीन महत्वका अन्य सम्पदा जीर्णोद्धारका लागि विभाग र महासमितिले अध्ययन गरिरहेको महासमितिका महासचिव महेन्द्ररत्न बुद्धाचार्यले जानकारी दिए ।
आगामी दिनमा त्यहाँ विभिन्न पर्यटकीय पूर्वाधारको विकास गरी पर्यटन क्षेत्रको प्रवद्र्धन गर्नुपर्ने सम्पदाप्रेमी एलिना ताम्राकारले बताइन् । चैत्य पुनःनिर्माणका क्रममा धातुमा लेखिएको शिलालेख प्राप्त भएको छ । सन् १८७५ जुन २८ मा हर्षरत्नले आफ्ना पिता धर्मसिंहका नाममा चैत्य स्थापना गरेको बताइएको छ ।
महाचैत्य आसपास क्षेत्रमा भत्किएका प्रतापपुर, अनन्तपुरलगायत अधिकांश सम्पदाका पुनःनिर्माण तथा मर्मत सम्भार सकिएको छ । पुजारीका केही घर अझै पूरा हुन सकेको छैन ।