News व्यापार

खस्कँदै सेयर बजार

खस्कँदै सेयर बजार

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले धमाधम गत आर्थिक वर्षको प्रगति विवरण सार्वजनिक गरिरहेको भए पनि सेयर बजारलाई त्यसले कुनै प्रभाव पारेको छैन । 

 

बिहीबारको सेयर बजार ओरालो लागेर कारोबार बन्द भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक करिब चार अङ्क अर्थात् ३.९२ बिन्दुले घटेर एक हजार १७८.५० मा झरेको छ । यस्तै ‘क’ वर्गका सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.५४ बिन्दुले घटेर २४८.९९ बिन्दुमा कायम छ । 

 

आज कुल १ सय ५९ कम्पनीको १० लाख २० हजार ५ सय ९५ कित्ता सेयर २७ करोड ७३ लाख आठ हजारमा कारोबार भएको छ । स्टकका अनुसार दुई उपसमूहको सेयर बढ्दा अन्य उपसमूहको घटेको छ । विकास बैंक ०.१८ र अन्य समूह ५.०७ बिन्दुले बढ्दा बैङ्किङ ३.५३, जलविद्युत् १४.६२, होटल २.३६, वित्त ०.०७, निर्जीवन बीमा २७.५५, उत्पादन ५४.६७, माइक्रोफाइनान्स ४.४१, जीवन बीमा ३८.६४ ले घटेको छ ।

 

एनआइबिएल समृद्धि फण्ड र लक्ष्मी भ्यालु फन्ड एकका लगानीकर्ताले आज कमाएका छन् भने युनिलिभर नेपाल लिमिटेड र सप्तकोशी डेभलपमेन्ट बैंकका सेयर लगानीकर्ताले गुमाएका छन् । 

 

बोनस सेयर सूचीकृत 

 

मेघा बैंक लिमिटेडको ९९ लाख ८६ हजार ९ सय ५१ कित्ता बोनस सेयर स्टकमा सूचीकृत भएको छ । यस्तै लुम्बिनी विकास बैंकको १६ लाख ४६ हजार ४ सय ४२ कित्ता बोनस सेयर पनि आजै सूचीकृत भएको छ । यसैगरी नेपाल कम्युनिटी विकास बैंकको चार लाख १७ हजार ४ सय ६१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस्तै एनआइबिएल समृद्धि फन्डले एकाइ धनीलाई करसहित १२ प्रतिशतका दरले हुन आउने १२ करोड प्रतिफल वितरण गर्ने जानकारी स्टकलाई गराएको छ । प्रतिफलपश्चात् उक्त सामूहिक योजनाको खुद सम्पत्ति मूल्य प्रतिएकाइ १० रुपैयाँ नौ पैसा कायम रहनेछ । 


 

सेयर बजार

विशेष