News

विप्लवको पत्रकार संगठन फुट्यो, संस्थापन पक्षबाट अायाे यस्तो विज्ञप्ती

विप्लवको पत्रकार संगठन फुट्यो, संस्थापन पक्षबाट अायाे यस्तो विज्ञप्ती

काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट पत्रकारहरुकाे संस्था क्रान्तिकारी पत्रकार संगठन नेपाल फुटेको छ । तेस्रो राष्ट्रिय सम्मेलन भएको लामो समयसम्म पनि केन्द्रीय पदाधिकारी चयन हुन नसकिरहेकै वेला संगठन फुटेको हो ।


स्रोतले दिएको जानकारी अनुसार नेकपाका प्रवक्ता खड्बहादुर विश्वकर्मा प्रकाण्ड लगायतका नेताहरुको साथ रहेको एक ७ सदस्यीय समुहले संगठन फुटाएको स्रोतले जनाएको छ ।


खासगरी प्रकाश डुम्रे, हिम विष्ट, राजेन्द्र चिमौरिया, मानध्वज लामा, मोहन पन्त, सिर्जना तिम्सिना र आलोक लिम्बु लगायतले आफू नेतृत्व हत्याउन संगठन फुटाएको जनाएको छ । 


उनीहरुले डुम्रेको नेतृत्वमा पदाधिकारी समेत चयन गरिसकेका छन् । तर, संस्थापन पक्षले भने यसमा कुनै आधार नरहेको प्रष्ट पारेको छ । 
नगरकोटमा भएको बन्दसत्रपछि केन्द्रीय समितिको बैठक नबसेको र पदाधिकारी चयन गरिएको भन्ने हल्ला मात्र भएको भन्दै संस्थापन पक्षले बिहीबार एक विज्ञप्ति नै सार्वजनिक गरेकोे छ । 


“गत बैशाख १५ गते काठमाडौंको राष्ट्रिय सभागृहमा भव्य उद्घाटन गरी १६ र १७ गते नगर कोटमा बन्दशत्र गरिएको सर्वविदितै छ । सम्मेलनमा प्रहरीले गरेको हस्तक्षेपका कारण हामीले केन्द्रीय समितिको नाममात्र पारित गरी बाँकी पदाधिकारी केन्द्रीय समितिको पहिलो बैठकबाट चयन गर्ने गरी बन्दशत्र सम्पन्न गरेका थियौ ।” अगाडी भनिएको छ। “त्यसपछि आन्तरिक र बाह्य परिस्थितिको अप्ठारोका कारण अहिलेसम्म केन्द्रीय समितिको बैठक बस्न सकेको छैन ।

 

यसैक्रममा केही मान्छेहरुले केन्द्रीय समितिको बैठक बसेर पदाधिकारीको चयन गरिएको भन्दै आफैले आफैलाई पदाधिकारी घोषणा गर्ने र समाचार लेखाउने तथा सामाजिक सञ्जालमा बधाई दिन लगाउने अत्यन्तै निच हर्कत गरिरहेका छन् । यी कुनै पनि हल्ला सत्य नभएको र यस्ता निराधार हल्लामा विश्वास नगर्न हामी सबैमा अनुरोध गर्दछौ ।”


संगठनले बन्द कोठाबाट कुत्षित मनसायले गरिने यस्ता हल्लाका पछि नलाग्न अनुरोध गर्दै अब छिट्टै केन्द्रीय समितिको बैठक बसेर नगरकोट सम्मेलनको बाँकी प्रक्रियालाई पूरा गरी संगठनको नियमित काम कार्यमा अघि बढ्ने जानकारी दिएको छ ।


अहिले अध्यक्ष घोषणा गरिएका डुम्रे प्रकाण्ड खेमाका हुन् भने त्यो बाहेकका सदस्यहरु सस्थापन पक्ष वा विप्लव निकट हुन् । तर पछिल्लो पटक डुम्रेले विप्लवका दाइ बिरजंग र उमा भुजेलका श्रीमानलाई समेत हातमा लिएर प्रकाण्डसहितको दबाबमा बिप्लवलाइ यस्तो निर्णय गर्न बाध्य पारिएको पनि हुन सक्ने एक सदस्यले बताएका छन् । उनले भने– “नत्र भने डुम्रेलाई अहिले नै उक्त संगठन अध्यक्ष बनाउन मिल्ने कुनै पनि आधार छैन ।“ 

 

डुम्रे २०६५ सालमा मात्र माओवादी आन्दोलनमा लागेका र ६६ सालदेखि मात्र पत्रकारितामा आएका व्यक्ति हुन् भने उनि बाहेक जनयुद्दको सुरुवातदेखि नै पार्टीमा लागेका र ५७ र ५८ देखि नै पत्रकारिता गरेका अरु दर्जनौ व्यक्तिहरु अहिले पनि उक्त संगठनमै छन् । 


सरकारले लागु गरेको मुलुकी ऐनप्रति आपत्ति


यसै क्रममा यही भदौ १ गते सरकारले लागु गरेको मुलुकी ऐनले नेपाली प्रेस र आम जनताको अधिकारलाई पूरै कुन्ठित पारेको बताएको छ । संगठनले खासगरी धारा २९३ देखि धारा ३०७ सम्मका प्राबधानहरुले नेपाली प्रेसको घाँटी रेट्ने काम गरेको बताएको छ ।

 

विज्ञप्तिमा भनिएको छ– “यसले खोज पत्रकारिताको हत्या गरेको छ । साथै सामान्य नागरिकको दैनिकीमाथि नै कठोर कानुन लादेर सरकारले निरंकुश चरित्र देखाएको छ । यसप्रति हाम्रो संगठन घोर आपत्ती व्यक्त गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप गर्ने गरी ल्याइएका ती प्रावधानहरु खारेज गर्न माग गर्दछ ।”

 

संगठनले सरकारले कानुन मार्फत हरण गर्न खोजिएका जनअधिकार र स्वतन्त्रताको रक्षाका लागि एकताबद्ध भई संघर्षमा उत्रन आम श्रमजीवी पत्रकार, अधिकारकर्मी तथा स्वतन्त्रताका पक्षधर सबैमा आह्वान गरेको छ ।

Press Statement Rjon by pratap

नेत्रविक्रम चन्द ‘विप्लव’

विशेष