News

निर्मला हत्या घटनाः प्रदेश सरकार एक जनाको मृत्युपछि बोल्यो

निर्मला हत्या घटनाः प्रदेश सरकार एक जनाको मृत्युपछि बोल्यो

धनगढी ।  निर्मला पन्तका हत्यारालाई कारबाहि हुनुपर्ने भन्दै आन्दोलन भइरहेका बेला प्रहरीको गोलीबाट मृत्यु भएका सन्नी खुनाको विषयमा सरकार गम्भीर रहेको प्रदेश सात सरकारले जनाएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै कञ्चनपुर घटनाको विषयमा सरकार गम्भीर रहेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले बताए । 

मन्त्री शाहले भने,‘केही दिनदेखि निर्मला पन्तको घटनाले प्रदेश नै अशान्त छ । समस्या समाधानका लागि केन्द्र सरकारसँग समन्वय भइरहेको छ, चाडै सबै कुरा ठीक हुन्छ ।’

उनले घटनामा मृत्यु भएका बालकका परिवारलाई प्रदेश सरकारले क्षतिपूर्ति दिने र घाइतेको उपचार खर्च बेहोर्ने जानकारी दिए । दोषीलाई कारबाही र पीडितलाई न्याय दिने कुरामा सरकार दृढ रहेको भन्दै उनले घटनाको अनुसन्धानमा सहयोग गर्नसमेत आग्रह गरे । 

कञ्चनपुर घटनाबारे शनिवार बिहान आकस्मिक रुपमा मन्त्री परिषद बैठक पनि बसेको थियो । उक्त मन्त्री परिषद् बैठकमा प्रदेशका सुरक्षा निकायका प्रमुखको समेत सहभागिता रहेको थियो ।
 

निर्मला पन्त प्रदेश सात प्रकाश शाह

विशेष