News

सरकारले युवालाई विनाधितो ऋण लगानी गर्ने

सरकारले युवालाई विनाधितो ऋण लगानी गर्ने

काठमाडौँ । सरकारले युवा स्वरोजगारका लागि केही युवालाई विनाधितो ऋण लगानी गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले युवा स्वरोजगार उत्पादन तथा उद्यमशीलताको विकासका लागि विनाधितो ऋण लगानी गर्ने बताए । 

किङ्स कलेजले आयोजना गरेको ‘युनस सोसियल विजिनेस च्यालेञ्ज २०१८’ को काठमाडौंमा उद्घाटन गर्दै मन्त्री विष्टले भने, ‘हजारौँ युवामा श्रम र उद्यमशीलताबाट टाढिने मानसिकताका कारण बेरोजगारीको समस्या बढेको छ । सानो पूँजीको अभावमा पनि कोही युवा उद्यमशील बन्नबाट बञ्चित हुनु पर्ने छैन । केही हजार युवालाई स्वरोजगार बनाउने गरी विनाधितो रु पाँचदेखि १० लाख ऋण लगानी गर्न सरकार तयार छ ।’

युवा स्वरोजगारका लागि चालू आवमा सरकारले बजेट विनियोजन गरेको उल्लेख गर्दै मन्त्री विष्टले उद्यमशील मानसिकताका साथ युवाको सक्रिय सहभागिता हुन जरुरी रहेको बताए। 

श्रमलाई सम्मान गर्ने मानसिकताको अभावले उद्यमशीलताको विकास हुन नसकेको बताउँदै उनले सामान्य पढेलेखेका युवामा सानो काम गर्नुहुन्न भन्ने नकारात्मक सोच नै चुनौती बनेको उल्लेख गरे । 

किङ्स कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्यालले युवा उद्यमशीलताको प्रवद्र्धन गर्ने उद्देश्यले तीन वर्षदेखि ऊर्जा, कृषि, पर्यटन, महिला सहभागितालगायत विषयमा युवा उद्यमशीलता विकास र सामाजिक दायित्व निर्वाहका लागि प्रोत्साहन गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए  

सोसियल विजनेस प्रतियोगिताका लागि यो पटक देशका विभिन्न शहरबाट ५५ वटा युवा उद्यमी समूहले आवेदन दिएकामा विभिन्न चरणमा छनोट भई १० वटा समूह अन्तिम प्रतिस्पर्धा पुगेका छन् । 

गोकर्ण विष्ट युवा स्वरोजगार

विशेष