जिम्बाबेका राष्ट्रपति नानगाग्वाद्वारा सपथग्रहण
जिम्बाबे । जिम्बाबेको राष्ट्रपतिमा इमर्सन नानगाग्वाले आइतबार औपचारिक रुपमा सपथ ग्रहण गरेका छन् । लामो समय शासन गरेका रोवर्ट मुगावेको बहिर्गमनपछि भएको पहिलो निर्वाचनबाट निर्वा्चित भएर उनले पूर्ण अधिकार सहितको राष्ट्रपति बन्नु भएको हो ।
“म इमर्सन डाम्बुड्जो नानगाग्वाले जिम्बाबेका लागि इमान्दारितापूर्वक काम गर्नेगरी गणतन्त्र जिम्बाबेको राष्ट्रपति पदको सपथग्रहण गर्दछु,” सपथग्रहण गर्दा उनले भने । हरारेमा रहेको एउटा रंगशालामा हजारौँ समर्थकहरुको बीचमा उनले सपथ ग्रहण गर्नु भएको समाचारमा जनाइएको छ ।
“मैले जिम्बाबेका नागरिकको अधिकारको संरक्षण र प्रवद्र्धन गर्नेछु, त्यसैले मलाई भगवानले साथ दिनुहुनेछ,” उनले भने । जिम्बाबेको उच्च अदालतले प्रतिपक्षीद्वारा राष्ट्रपतीय निर्वाचन परिणामलाई लिएर दायर मुद्दाको विपक्षमा शुक्रबार फैसला सुनाएपछि आइतबार उनले सपथग्रहण गरेका हुन ।
शुक्रबार सुनाइएको फैसलामा भनिएको छ, “निर्वाचनमा भएको धाँधली सम्बन्धी अध्ययनमा अदालतको अन्तिम निष्कर्ष निवेदकले लगाएका आरोपलाई पुष्टि गर्ने खालको प्रत्यक्ष, प्रशस्त र विश्वसनीय आधार भेटिएको छैन ।”
प्रधानन्यायाधीश लुक मालालाले संवैधानिक अदालतको फैसला सुनाउँदै गत जुलाई ३० मा भएको राष्ट्रपतीय निर्वाचनमा इमर्सन नानगाग्वा निर्वा्चित भएको अदालतले शुक्रबार ठहर गरेको जानकारी दिए ।
जिम्बाबेको प्रमुख विपक्षी गठबन्धन मुभमेन्ट फर डेमोक्रेटिक चेन्ज (एमडीसी) ले नागाग्वा विजयी भएको परिणाम अस्वीकार गरेको थिए । विपक्षी गठबन्धनका प्रमुख नेल्सन चामिसाले यस नतिजालाई फर्जी भएको बताए ।
जिम्बाबेको निर्वाचन आयोगले निर्वाचन निष्पक्ष रुपमा भएको र कुनै धाँधली नभएको दावी गरेको थियो । यो चुनाव सम्पन्न भएपछि नै मतगणना जारी रहेकै बेलादेखि विपक्षी गठबन्धनले निर्वाचन प्रक्रियाको विरोध गरेको थियो । उसको विरोधका कारण देशव्यापी रुपमा हिंसा पनि मच्चिएका थिए ।
गएको नोभेम्बरमा ९४ वर्षीय पूर्व राष्ट्रपति रोबर्ट मुगाबे सत्ताच्युत भएपछि जिम्बाबेमा पहिलोपटक संसद र राष्ट्रपतिको निर्वाचन भएको हो । तत्कालीन उपराष्ट्रपति नान्गाग्वा मुगाबेलाई पदबाट हटाइएपछि नै राष्ट्रपति भएका हुन ।
परिणामअनुसार नान्गाग्वाले २४ लाख ६० हजार ४ सय ६३ मत प्राप्त गरेका थिए । यो मत परिणाम यहाँको निर्वाचनमा खसेको कूल मतको ५०.८ प्रतिशत हो । त्यसैगरी विपक्षी नेता नेल्सन चामिसाले २१ लाख ४७ हजार ४ सय ३६ अर्थात् ४४.३ प्रतिशत मत प्राप्त गरेका निर्वाचन आयोगद्वारा सार्वजनिक परिणाममा जनाइएको छ ।
निर्वाचनमा धाँधली भएको भन्दै विपक्षीले राजधानी हरारेमा गरेको प्रदर्शन दबाउन प्रहरी र सेनाले चलाएको गोली लागेर छ जना भन्दा बढीको मृत्यु भएको थियो ।अदालतले विपक्षीको दावीलाई गलत ठहर गर्दै नानगाग्वाको पक्षमा फैसला गरेपछि जिम्बाबेको अबको बाटो केही प्रष्ट भएको देखिएको छ ।
उनले अब केही दिनमै नयाँ सरकार गठन गरिने बताए । झण्डै चार दशक मुगाबे शासन रहेको जिम्बाबेमा निर्वाचनबाट नयाँ सरकार गठन हुने भएपछि विश्वले नै यसलाई आशावादी र सकारात्मक रुपमा हेरेको छ ।