सैनिक दमन भएको भन्दै हजारौँ रोहिंग्याद्वारा विरोध प्रदर्शन
बंगलादेश । म्यानमारको सैनिक दमनका कारण ठूलो संख्यामा बंगलादेशलगायतका मुलुकमा पुगेका शरणार्थीहरूले ‘न्याय’को माग गर्दै सैनिक दमन भएको पहिलो बर्ष पुगेको सन्दर्भमा शनिबार (अगस्ट २५ मा) विरोध प्रदर्शन गरेका छन् ।
आफन्तहरूमाथि भएको बर्बर हत्या, बलात्कार र अपहरणका घटनाको स्मरण गर्दै कैयौँले आफूहरू रहेका शिविरहरूमा आफ्ना वेदना पोखेका थिए । उक्त दमनका कारण करिब सात लाख रोहिंग्या शरणार्थीले म्यानमारको राखाइन राज्य छोडी विदेशिएका थिए ।
बंगलादेश सरकारको नियन्त्रणमा रहेको विश्वमा सबैभन्दा धेरै रोहिंग्या शरणार्थीहरू रहेको शिविरमा शरणार्थीहरूले शान्तिपूर्णरूपमा तर अप्रत्यासित संख्यामा प्रदर्शनमा सहभागिता जनाएका थिए ।
बंगलादेशको कुटुपालुङ शिविरमा रहेका शरणार्थीहरूले प्रदर्शनमा सहभागिता जनाउँदै ‘हामी रोहिंग्या हौँ ,न्याय चाहन्छौँ’ जस्ता नारा लगाउँदै शान्तिपूर्ण प्रदर्शन गरेका थिए । रोहिंग्याहरूको जातीय नरसंहार भएको दिन अगस्त २५ कहिल्यै नआओस् भन्ने नारा लेखिएकोे विशाल न्यानरमा बोकेर प्रदर्शन गरेका थिए ।
शिविरको विभिन्न भागबाट आएका महिला, बालबालिकासहितको हजारौँको संख्याका सहभागीले रुँदै ३ सय ६५ दिन बितायौँ अब हामी क्रोधित बनेका छौँ भन्ने नाराहरूसहितका प्लेकार्ड बोकेर जुलुसमा सहभागिता जनाएका थिए ।
म्यानमारको रोहिंग्या लडाकूले रखाइन राज्यमा भएका ‘अत्याचार’ को विरोधमा गत बर्ष अगस्ट २५ मा प्रहरी चौकीमा आक्रमण गर्दै विद्रोह शुरु गरेका थिए । जसमा एक महिनामा करिब सात हजार रोहिंग्या शरणार्थीले ज्यान गुमाएका मेडिसिन्स सान्स फ्रन्टियर्सको तथ्याङ्कमा छ ।
सहभागी शरणार्थीहरूसँगको कुराकानीमा उनीहरूले गत बर्ष आफ्ना घरहरू गुमाएको स्मरण गर्दै घर छैन, आश पनि छैन भन्ने निकै निराशाजनक अभिव्यक्तिहरू समेत व्यक्त गरेका एएफपीका सम्वाददाताले शिविरबाट गरेको रिपोर्टिङमा उल्लेख छ । उनीहरूले अल्लाहसँग प्रार्थना गर्दै आफूहरूलाई घर फर्काइदिन आग्रहसमेत गरेका देखिन्थ्यो ।