इलामको अदुवा झापामा कर !

भद्रपुर । इलाममा उत्पादन भएको अदुवामा झापाले निकासी कर लगाउन थालेको छ । व्यवसायीले झापा जिल्ला समन्वय समितिले भन्सार विन्दु काँकरभिट्टामा लिने गरेको सो निकासी कर कानून विपरीत भएको बताएका छन् ।
आइतबार भारततर्फ सुनिता ट्रेडर्सको नाममा निकासी हुन लागेको १० हजार किलो अदुवामा समन्वय समितिले रु पाँच हजार निकासी करका रुपमा असुल गरेको हो ।
‘जे एण्ड जे निर्माण सेवा प्रालि’ले जिल्ला समन्वय समितिबाट कर असुलीको ठेक्का लिएको थियो । सो कम्पनीका व्यक्तिले रु पाँच हजार निकासी कर असुल गरेको नेपाल अदुवा व्यवसायी सङ्घ झापाका कार्यबाहक अध्यक्ष टोम राजवंशीले बताए । दुई दिनदेखि समन्वय समितिले कर लिन थालेको उनको भनाइ छ ।
इलाममा उत्पादन भएको अदुवाको झापामा निकासी कर लिँदा किसान तथा व्यवसायी दोहोरो मारमा परेको राजवंशीले बताउनुभयो । लामो समय भारतीय क्वारेन्टाइनको अवरोधपछि बल्लतल्ल अदुवाको निकासी हुन थालेको थियो ।
अदुवा भारत निकासी नहुँदा कृषक निराश भएका थिए । अदुवामा दोहोरो कर नलिन मेची उद्योग वाणिज्य सङ्घले जिल्ला समन्वय समितिलाई आग्रह गरेको छ ।
इलाम अदुवा झापा