News

बिम्स्टेकका पाहुनाको लागि ५८ स्वागतद्वार

बिम्स्टेकका पाहुनाको लागि ५८ स्वागतद्वार

काठमाडौं । बिम्स्टेक पाहुनाको स्वागतार्थ काठमाडौँका विभिन्न स्थानमा ५८ वटा स्वागतद्वार बनाइएको छ । नेपालको कला, संस्कृति झल्कने तस्वीर तथा बिम्स्टेक राष्ट्रप्रमुखको तस्वीर राखिएको छ । 

 

पाँच मिटर अग्ला कलात्मक द्वारमा सदस्य राष्ट्रका राष्ट्रप्रमुख, सरकार प्रमुख तथा विशिष्ट पाहुनाको तस्वीर राखिएको छ । शुरुमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार लन्प्यो छिरिङ वाङचु, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, म्यान्माका राष्ट्रपति विन मिन्त, श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चाको तस्वीर सजाइएको छ । 

 

यस्तै ती देशका झण्डासमेत क्रमैसँग राखिएको छ । शहरी विकास मन्त्रालयले तयार पारेको डिजाइनअनुसार काठमाडौँ महानगरपालिकासहित अन्य सरकारी तथा निजी सङ्घसंस्थाको सहयोगमा ती स्वागतद्वार बनाइएको हो । 

 

पाहुनाको स्वागतका लागि रङरोगन र सरसफाइको जिम्मा लिएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले स्वागतका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । फोहोर व्यवस्थापन, रङरोगन तथा तस्वीर सजावट लगायतका काम सकिएको र केही बाँकी भए त्योसमेत मङ्गलबार बिहानसम्म पूरा हुने उनको भनाइ छ । 

बिम्स्टेक काठमाडौँ महानगरपालिका ५८ स्वागतद्वार स्वागतद्वार प्रवक्ता ज्ञानेन्द्र कार्की

विशेष